रविका समर्थकलाई दुर्गा प्रसाईंले भने: भीडले सत्य-असत्य छुट्याउँदैन, अदालतको आदेश पर्खौं



काठमाडौं । नागरिक बचाऊ अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रास्वपा कार्यकर्ताहरुको आन्दोलनप्रति असन्तुष्टि जनाउँदै सम्मानित अदालतको आदेशलाई पर्खन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भीडले सत्य-असत्य नछुट्याउने भन्दै अदालतलाई विश्वास गर्नुपर्ने उल्लेख गरेका छन् ।

यस्तै उनले आफू पोखरामा रास्वपाको आन्दोलनमा जाने विषयमा पनि हल्ला र भ्रम फैलाइएकोमा आपत्ति जनाएका छन् । उनले आफू झापास्थित निवासमै रहेको र पोखरा नजाने बताएका छन् ।

प्रसाईंले लेखेका छन्, ‘म आज पोखरा जाने भन्ने हल्लाले धेरैमा भ्रम पैदा भएको पाएको छु । म झापा आफ्नै निवासमा छु । अदालतले अनुसन्धानका लागि म्याद थपिसकेपछि भीडले सत्य असत्य छुट्टाउने होइन । सम्मानित अदालतको आदेशलाई कुरौं , सबैलाई अविश्वास गरेर पनि त भएन । दोषी कोही उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन ।’

प्रसाईं पनि पोखराको आन्दोलनमा जाने विषयमा विभिन्न प्रचारबाजी सामाजिक सञ्जालमा आएपछि त्यसको जवाफको रुपमा प्रसाईंले स्टाटसमार्फत यस्तो बताएका हुन् ।

प्रसाईंले यसअघि पनि रास्वपाको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै केपी ओली र रवि लामिछानेको सम्बन्धबारे पहिलेदेखि नै आफू जानकार रहेको बताएका थिए ।

लामिछनेप्रति उनले बेला बेला कटाक्ष पनि गर्ने गरेका थिए । पछिल्लो पटक उनले रास्वपाको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै अदालतको आदेश पर्खनुपर्ने सुझाव दिएका छन् ।


क्लिकमान्डु