सुनको मूल्यमा फेरि रेकर्ड, कतिमा भइरहेछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ ६ सय रुपैयाँले बढेको हो । दसैंपछि नेपाली बजारमा सुनको भाउ हरेक दिन बढिरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेकोमा आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार निर्धारण गरिएको छ ।

तर तयारी गहनाको मूल्य भने तोलाकै झन्डै २ लाख पुगेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्दा आम ग्राहकले निर्धारित मूल्यमा तयारी गहना खरिद गर्न पाउँदैनन् । जसमा व्यापारीहरुले बैंक र गहना व्यवसायीको नाफाको रुपमा १ प्रतिशत छुट्याउने गरेका हुन्छन् । यसमा ज्याला, जर्ती पनि पर्छन् ।

त्यस्तै चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा आइतबार ९५ रुपैयाँले वृद्धि भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँ पुगेको छ । जवकि शुक्रबार चाँदीको मूल्य १ हजार ९ सय ८० रहेको थियो ।


क्लिकमान्डु