राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित हुँदैनौं : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने उनको जिकिर छ ।

अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरुलाई निर्देशन दिए । उनले लक्ष्य पूरा गर्नका लागि करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने पनि बताए । त्रास, आतंक, भय सिर्जना गर्ने कामबाट कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्ने उनको भनाइ थियो । यस्तै अधिकांश कर कार्यालयहरुमा सेवाग्राहीहरुलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न पनि उनले निर्देशन दिए ।

‘यो राजश्वको लक्ष्य पूरा भएन भने हामी कोही सुरक्षित छैनौँ । कोही पनि सुरक्षित छैनौँ । मन्त्री पनि सुरक्षित छैन, सचिव पनि सुरक्षित छैन, विभागका महानिर्देशकहरु पनि सुरक्षित हुनुहुन्न । उपमहानिर्देशक सुरक्षित हुनुहुन्न । कार्यालयका प्रमुखहरु सुरक्षित हुनुहुन्न । कोही पनि सुरक्षित हुँदैन । म स्वयं सुरक्षित छैन । हामीले लिएको राजश्वको लक्ष्य जसरी पनि पूरा गर्नुपर्छ । यो लक्ष्य पूरा गर्नका निम्ति हामी करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्छ । त्रास, आतंक, भय सिर्जना गर्ने, भय दोहन गर्ने तरिकाबाट आजको कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्छ,’ अर्थमन्त्री पौडेलले भने ।

यस क्रममा उनले करदातासँग मैत्रीपूर्ण व्यवहार गर्नुपर्ने भन्दै उनीहरुका गल्ती कमजोरीलाई सच्याउनुपर्ने बताएका थिए । तर अनुचित रुपमा छुट दिने र अन्देखा गर्न नहुने पनि उनको भनाइ थियो । विभिन्न कर कार्यालयमा सेवाग्राहीलाई राम्रो व्यवहार गर्न पनि माताहतका कर्मचारीलाई अर्थमन्त्री पौडेलले निर्देशन दिए ।

पौडेलले भनेका छन्, ‘के बुझ्नुपर्छ भने यदी हामीले भय दोहन गर्नखोज्छौँ, त्रास सिर्जना गर्न खोज्छौँ भने एउटा यस्तो बिन्दु आउँछ, जतिबेला मान्छेले प्रतिवाद गर्दछ । प्रतिवादमा उत्रियो भने काम तमाम हुन्छ । कर दातासँग मैत्रीपूर्ण व्यवहार गर्ने हो । कुनैपनि प्रकारका चिटिङलाई दायरामा ल्याउने हो । नियमन गर्ने हो, अनुचित ढंगले छुट दिने, अन्देखा गर्ने होइन । तर तर्साउने, धम्क्याउने काम हाम्रो कर प्रशासनले गर्दैन । मिठो बोलेर के बिग्रिन्छ ।’


क्लिकमान्डु