नेपालीसहित ३३ आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाको गोली प्रहार, ६ जना मारिए



एजेन्सी । आप्रवासीहरु चढेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ जना मारिएका छन् । उक्त ट्रकमा नेपालीहरु पनि थिए । नेपालसहित विभिन्न देशका ३३ जना आप्रवासीहरु चढेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाएको हो ।

गोली प्रहारबाट १० जना घाइते छन् । मेक्सिको हुँदै अवैध तरिकाबाट अमेरिका जाने आप्रवासीहरु बढिरहँदा अमेरिकाले मेक्सिकोलाई दबाब दिने गरेको थियो ।

विशेषगरी मेक्सिकोको दक्षिणी सीमाबाट अवैध रुपमा अमेरका जाने आप्रवासीहरु बढिरहँदा त्यसलाई रोक्न अमेरिकाले मेक्सिकोलाई दबाब दिने गरेको थियो । हालै मेक्सिकन सेनाले गस्ती गरिरहेको समयमा ३३ जना आप्रवासीहरु चढेको पिक अप ट्रकमा गोली प्रहार गरेको हो ।

आप्रवासीहरुको समूहमा इजिप्ट, नेपाल, क्युबा, भारत र पाकिस्तानका नागरिकहरु रहेको रोयटर्सको समाचारमा उल्लेख छ । तर ती मारिने र घाइते हुनेहरुमध्ये कुन कुन देशका हुन् भन्ने विषयमा यकिन भइसकेको छैन ।

मेक्सिको सरकारका अनुसार स्थानीय समय अनुसार मंगलबार राति ९ बजेतिर हुक्सला सहर नजिकैको क्षेत्रमा घटना भएको थियो । जुन क्षेत्र ग्वाटेमाला सीमादेखि ४० किलोमिटर टाढा पर्छ ।

मेक्सिकन सरकारका अनुसार अवैध रुपमा आप्रवासीलाई अमेरिका पठाउने आपराधिक गिरोहले पिक अप ट्रकसँगै अरु दुई भ्यानहरु पनि प्रयोग गरेका थिए । यससँगै सेनाले त्यहाँ विस्फोटको आवाज आएपछि आफूहरुले दुई राउन्ड गोली चलाएको जनाएको छ ।

घटनामा चार जना आप्रवासीहरु घटनास्थलमै मारिएका थिए भने दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

अमेरिकाको छिमेकी देश मेक्सिकोलाई आपराधिक गिरोहले आप्रवासीलाई अमेरिका पठाउने अवैध मार्गको रुपमा प्रयोग गर्दै आएका छन् ।

उनीहरुले विभिन्न देशबाट पैदल हिँडाएर र डुंगामा यात्रा गराउँदै पानामा जंगल हुँदै मेक्सिकोको सीमा कटाएर युवाहरुलाई सुरक्षित बसोबासका लागि अमेरिका पठाउने गरेका छन् । यसरी नेपालबाट पनि हरेक वर्ष ठूलो संख्यामा अवैध रुपमा अमेरिका जाने क्रम चल्दैआएको छ ।

यसपटक मेक्सिकन सेनाको गोली प्रहारमा पर्ने समूहमा नेपाली आप्रवासी कति थिए वा कुन ठाउँका भनी पहिचान भइसकेको छैन । गोली प्रहारमा बाँच्न सफल भएका अरु १७ जना आप्रवासीलाई मेक्सिकोको अध्यागमनमा बुझाइएको छ । सम्भवत:उनीहरुलाई आवश्यक कारबाहीपछि आआफ्नै देशमा पठाइनेछ ।


क्लिकमान्डु