९ वर्षअघि थालिएको चोभारको पुष्प तथा फलफूल बजार ११ पटक म्याद थप्दा पनि बनेन

मन्त्री भन्छन्: कारवाही गर्छौं




काठमाडौं । काठमाडौंको चोभारमा निर्माणधीन बहुतले पुष्प तथा फलफूलको थोक बजारको निर्माण कार्य अझै सम्पन्न भएको छैन ।

सरकारले भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्नका लागि ११ पटकसम्म म्याद थप्दा पनि ठेकेदार कम्पनीले निर्माण कार्य सम्पन्न गरेका छैनन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा २२ रोपनी क्षेत्रफलमा बहुतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार काम नभएपछि २०८१ भदौं मसान्तभित्र काम सम्पन्न गर्ने गरी २०८० चैत १३ गते ११ औँ पटक म्याद थप गरिएको थियो । सम्झौता अनुसार काम सम्पन्न गर्न अन्तिम पटक थपिएको म्याद सक्दा पनि अझै करिब ७ प्रतिशत काम गर्न बाँकी छ ।

समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको सचिबालयले जनाएको छ ।

कृषि मन्त्री अधिकारीले निर्माण सुरु भएको झण्डै ९ वर्ष बित्न लाग्दा पनि उक्त बजारको निर्माण कार्य सम्पन्न नहुँदा चासो राख्दै बजारको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा मन्त्री अधिकारीले बजारको काम तत्काल पुरा गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

‘सम्झौता अनुसार काम नसकिए कानुन अनुसार कारबाही गर्न बाँकी राख्दिन,’ कृषि मन्त्री अधिकारीले निर्देशन दिदैं भने,‘आवश्यक सहजिकरण गर्न मन्त्रालय तयार छ । तर निर्माण कार्यमा कुनै पनि बहाना सरकारलाई सह्य हुँदैन ।’

म्याद सकिँदा पनि निर्माण कार्य सम्पन्न नहुँदा मन्त्रालय अब म्याद थप्ने योजनामा छैन ।

‘अब हामी म्याद थप्ने योजनामा छैनौं, ठेक्केदारलाई भुक्तानी गर्न बाँकी रहेको साढे २ करोड रुपैयाँ पनि भुक्तानी गर्ने पक्षमा छैनौं,’ मन्त्रीको सचिवालय स्रोतले भन्यो,‘ठेकेदार कम्पनीले असोज महिनासम्म जसरी पनि निर्माण कार्य सम्पन्न गर्छु भनेर बाचा गरेकाले हामी असोज महिनासम्म अवस्था हेरेर बस्छौं । त्यसपछि आवश्यक कारवाही अघि बढाउँछौं ।’

समस्या अपुरो डीपीआर

भौतिक पूर्वाधार निर्माण गर्नुअघि निर्माणस्थलको विस्तृत रुपमा गहन अध्ययन गर्नुपर्छ । माटोको अवस्था, पानीको स्रोत, सडक, भवितव्यलगायतका विषयमा प्राविधिक र वैज्ञानिक रुपमा अध्ययन गरी तयार पारिने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का आधारमा मात्रै भौतिक पूर्वाधार ठड्याइने सामान्य नियम हो ।

तर, गहन अध्ययनबिना अपुरो डीपीआरको सहयोगमा निर्माण सुरु भएको चोभारस्थित फलफूल तथा पुष्प बजार ९ वर्ष बित्न लाग्दा पनि सम्पन्न भएको छैन । विकास साझेदारको अनुदान रकम फिर्ता नजाओस् र आवश्यकता पनि पूरा होस् भन्ने उद्देश्यका साथ थोरै समय बाँकी रहँदा निर्माण सुरु गरिएको यो बजार अहिले अलपत्र छ ।

प्याक्ट आयोजनाको अवधि सकिन १ वर्ष ८ महिनामात्रै बाँकी रहँदा २०७३ भदौतिर यो बजार निर्माण सुरु भएको थियो । तर, डीपीआरमा त्रुटी भएकाले आवश्यकताका आधारमा संरचना थपिँदै जाँदा निर्माण प्रभावित भएको सरोकारवालाहरुले बताएका छन् ।

निर्धारित समयमा बजार निर्माण सम्पन्न हुन नसक्नुको कारण बाहिरी चक्रपथ पनि एक हो । यसबाहेक निर्माण व्यवसायीको विभिन्न समयमा सरकारविरुद्धको आन्दोलन र डिजाइनमा नभएको संरचना थप गर्दा भेरिएसनका कारण यो बजारको निर्माण अवधि लम्बिँदै गएको हो ।

विश्व बैंकको सहयोगमा त्यसबेला सञ्चालनमा रहेको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले बजार निर्माण सुरु गरेको हो । कृषि क्षेत्रमा सबैभन्दा ठूलो लगानीको यो आयोजना २०६६ सालदेखि २०७५ असारसम्म नेपालमा सञ्चालन भएको थियो ।

तत्कालिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माका अनुसार उक्त बजारको निर्माण कार्य केही प्राविधिक कारणले प्रभावित भएको जानकारी दिए । उनी प्याक्टको प्रमुख हुँदा यो योजना सुरु भएको थियो ।

उनका अनुसार सुरुमा अन्डर ग्राउन्ड पार्किङमा पानीको सिपेज समस्या देखिएकाले त्यो समस्या समाधान गर्न छुट्टै भेरिएसनमार्फत गर्नुपर्दा केही समय ढिलाइ भएको थियो ।

‘डिजाइन गर्दा त्यो समस्याको बारेमा अध्ययन भएको रहेनछ, पछि निर्माण भइसकेको अन्डरग्राउन्डमा पानी तलबाट रसाउने र बाहिरबाट पनि आउने समस्या निम्तियो,’ उनले भने, ‘डिजाइनमा यो विषय नभएकाले समस्यालाई समाधान गर्न पुनः भेरिएसन गर्नुपर्‍यो । भेरिएसनका लागि आवश्यक प्रक्रिया पूरा गर्न र सिपेज समस्या समाधान गर्न प्राविधिक कठिनाईका कारण ढिलाई भएको थियो ।’

उनका अनुसार पानी रसाउने समस्या समाधान भएको छ । तर डिजाइनबाहेक माथिल्लो संरचनामा केही सुधार गर्नुपर्ने र पानी बग्ने नाला (ड्रेनेज) समेत बनाउनुपर्ने भएकाले यसका लागि पनि पुनः भेरिएसन गर्नुपर्ने बाध्यता आएको थियो । यो बिषयमा ठेक्केदार कम्पनी र मन्त्रालयबीच असहमति हुँदा निर्माण कार्य सम्पन्न हुन नसकेको हो ।

प्याक्ट आयोजनाको अवधि २०७५ असारमा सकिएपछि यो बजारको निर्माण र आवश्यक थप लगानीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लिएको थियो ।

महादेव खिम्ती निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले प्राविधिक रुपमा गहन अध्ययन भएको डीपीआर र पर्याप्त समयको आधारमा मात्रै ठूला संरचना निर्माण गर्नुपर्ने बताए ।

चोभारमा निर्माणाधीन फलफूल बजारको भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी सिंहको कम्पनीसहित ३ कम्पनीले संयुक्त रुपमा पाएका थिए ।

‘तर चोभारस्थित फलफूल बजार निर्माणका क्रममा डीपीआर र निर्माण अवधि दुवैमा ठूलो त्रुटी भएको पाइयो । यसले गर्दा निर्माण कार्य विभिन्न कारणले लम्बिँदै गयो,’ सिंहले भने, ‘पहिलो कुरा त निर्माण गर्ने अवधि नै निक्कै कम भयो । त्यसपछि डीपीआरमा नभएका संरचना अहिले आएर थपेर निर्माण गर्नुपर्दा समस्या सिर्जना भएको हो ।’

भेरिएसन थप हुँदा लागत मूल्य पनि अहिलेको बजार मूल्यअनुसार थपिन्छ । यो भेरिएसनमा कुरा नमिलेका कारण निर्माण कार्यमा सुस्तता आएको सिंहको भनाइ छ ।

‘कर्मचारीहरु आफ्नो पदीय जिम्मेवारीअनुसार नीतिगत निर्णय गर्न डराउने प्रवृत्तिका कारण पूर्वाधारका संरचना अलपत्र परिरहेका छन्,’ उनले भने ।

निर्माण कम्पनीका कारण पनि यो बजारको निर्माणमा ढिलाइ भएको प्याक्टका तत्कालीन अधिकारीहरुले बताएका छन् । निर्धारित समयमा काम नगरिदिएका कारण हालसम्म निर्माण सम्पन्न नभएको उनीहरुको आरोप छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० देखि यो बजार सञ्चालनमा ल्याउने बजेटमार्फत घोषणा गरेको थियो ।

यो बजारको विषयमा महालेखा परीक्षक कार्यालयले पनि ६० औं वार्षिक प्रतिवेदनमार्फत प्रश्न उठाएको छ । कार्यालयले ३४ करोड १५ लाख ३५ हजार रुपैयाँ खर्च गरी निर्माण गरेको फलफूल तथा थोक बजार भवन प्रयोगमा नल्याएको आफ्नो प्रतिवेदनमार्फत उल्लेख गरेको छ ।

कार्यालयले खरिद भएको सम्पूर्ण जग्गा कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको नाममा ल्याउन र निर्माण भएको चोभारस्थित बजारको भौतिक पूर्वाधार उद्देश्यअनुसार प्रयोगमा ल्याउन सुझाव दिएको छ ।

कार्यालयले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले तत्कालीन कृषि चुन उद्योगसँग चोभारमा खरिद गरेको २३ रोपनी १ आना जग्गामध्ये केही जग्गा समितिको स्वामित्वमा नआएको भन्दै बाँकी जग्गा पनि स्वामित्वमा ल्याउन सुझाव दिएको छ ।

यसरी तयार भयो बजारको योजना

मन्त्रालयका अनुसार तत्कालीन समयमा राजधानीमा अन्तर्राष्ट्रियस्तरको शीत भण्डारसहितको अत्याधुनिक सुविधा भएको फलफूल र पुष्प बजारको चर्को अभाव सिर्जना भइरहेको थियो । प्याक्ट आयोजनाको म्याद झन्डै सक्नै लागेको थियो ।

यस्तो बेलामा प्याक्टले पुष्प तथा फलफूल किसान र व्यवसायीको आग्रहमा कालिमाटी तरकारी बजार विकास समितिको सहयोगमा चोभारमा फलफूल तथा पुष्प बजार बजार निर्माण गर्ने योजना अघि सार्‍यो ।

योजनाअनुसार प्याक्टले हतारमा अधुरो डीपीआर तयार गरी टेन्डर आह्वान गर्‍यो । टेन्डरमा १२ वटा निर्माण कम्पनीले सहभागिता जनाएका थिए ।

यसमध्ये नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा, अनक कन्ट्रक्सन र बंगलादेशी कम्पनी साम्सोजामोनले संयुक्त रुपमा निर्माणको जिम्मेवारी पाए । ठेक्का पाउने कम्पनीलाई निर्माण गर्न १३ महिनाको अवधि दिइएको थियो ।

बजार निर्माणका लागि तत्कालीन समयमा विश्व बैंकले प्याक्टमार्फत ३३ करोड ७४ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

बाहिरी चक्रपथका नाममा एक वर्ष निर्माण ठप्प

भौतिक पूर्वाधारको निर्माण कार्य अघि बढ्ने क्रममा २ करोडको लगानीमा फाउन्डेसन तयार भइसकेको थियो । त्यही बेला उपत्यका विकास प्राधिकरणले भौतिक पूर्वाधार निर्माण भइरहेको संरचनाबाटै बाहिरी चक्रपथ निर्माण हुने भन्दै उक्त निर्माण कार्य रोक्न पत्र पठायो ।

‘यो पत्रपछि हामी छाँगाबाट खसेजस्तै भयौँ, किनभने हामीले २ करोड लगानी गरी फाउन्डेसन तयार गरिसकेका थियौं,’ प्याक्टमा कार्यरत तत्कालीन एक अधिकारीले भने, ‘यो पत्रको बारेमा हामीले तत्कालै विश्व बैंकलाई जानकारी गरायौं । विश्व बैंकले तत्कालै निर्माण कार्य रोकेर उक्त योजना नै खारेज गर्न निर्देशन दियो ।’

विश्व बैंकको यो निर्देशनका कारण लगानी भइरहेको रकम पनि डुब्ने र निर्माण भएको संरचना पनि काम नलाग्ने अवस्था सिर्जना भयो । बजारका लागि आएको रकमसमेत फिर्ता जाने अवस्था आयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शर्मा त्यसबेला प्याक्टको प्रमुख थिए ।

शर्माले चोभारमा सुक्खा बन्दरगाह र फास्ट ट्रयाक (द्रुत मार्ग) बन्न लागेकाले उक्त स्थानमा फलफूल तथा पुष्प बजारको ठूलो सम्भावना भएको भन्दै बजारको योजना स्थगित गर्नुभन्दा सरकारसँग गहन रुपमा छलफल गरी मार्ग प्रशस्त गर्ने विश्व बैंकलाई विश्वास दिलाए ।

शर्मा मन्त्रालयमार्फत सरोबारवाला निकायसँग गहन छलफल गरी भौतिक पूर्वाधारलाई नभेट्ने गरी बाहिरी चक्रपथ निर्माण गरिने विषयमा सरोकारवाला निकायलाई मनाउन सफल भए ।

त्यसपछि उपत्यका विकास प्राधिकरणले बजारको भौतिक पूर्वाधार निर्माण गर्न प्याक्टलाई अनुमति प्रदान गरेको थियो । यो सबै प्रक्रिया पूरा गर्दा १ वर्षसम्म निर्माण कार्य पूर्णरुपमा रोकिएको सचिव शर्माले जानकारी दिए ।

यस्तो बन्दैछ चोभारमा बजार

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले चोभारमा उपलब्ध गराएको २२ रोपनीको क्षेत्रफलमा नेपालकै सबैभन्दा ठूलो फलफूल र पुष्पको बजार निर्माण भइरहेको छ । निर्माण सम्पन्न भएपछि सञ्चालनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई हस्तान्तर गरिनेछ ।

बजारमा फलफूल तथा पुष्पसम्बन्धी थोक तथा खुद्रा पसल राख्ने सुविधा हुनेछ । यो बजारमा ५ तल्लाका दुईवटा र ३ तल्लाको एउटा भवन निर्माण हुनेछ ।

पाँच तल्ले एउटा भवनमा ८० वटा फलफूलका थोक पसल रहनेछन् । यस्तै तीन तल्ले पुष्प भवनतर्फ सातवटा थोक पसल रहने व्यवस्था छ ।

यसैगरी पुष्पतर्फ एउटा शीतभण्डार र फलफूलतर्फ दुईवटा शीत भण्डार निर्माण हुनेछ । प्याक्टका अनुसार फलफूल र पुष्पका गरी २५ वटा खुद्रा पसल पनि हुनेछन् । बजारमा ५० वटा हलुका सवारी साधन अटाउने अन्डर ग्राउन्ड पार्किङ र १५ वटा भारी सवारी साधन अटाउने छुट्टै पार्किङको व्यवस्था गरिएको छ ।

यसैगरी बजारमा ३० मेट्रिक टन क्षमताका गाडीसहित फलफूल तथा पुष्पको तौल गर्न सक्ने बेइङ ब्रिज पनि जडान गरिनेछ । साथै १४ वटा काँचो फलफूल पकाउने कोठाको पनि व्यवस्था गरिएको छ । बजारमा फलफूल तथा पुष्पको गुणस्तर परीक्षण गर्ने हाइक्वालिटी सुविधा भएको प्रयोगशाला पनि हुनेछ ।

यसबाहेक कार्गो लिफ्ट सिस्टम, अपांगमैत्री शौचालय, कन्फ्रेन्स हल, प्रशासनिक भवन र सूचना केन्द्रको सुविधा पनि बजारमा रहनेछ ।


राजेश बर्मा