को हुन् अर्बपति मोहम्मद फयाद ? जोसँग जीवित हुँदा महिलाहरु डराउँथे, मृत्युपछि लगाउँदैछन् गम्भीर आरोप



सफल उद्यमी तथा अर्बपति रहेका मोहम्मद अल फयादमाथि थुप्रै महिलाहरुले बलात्कार तथा यौन आक्रमणको गम्भीर आरोप लगाइरहेका छन् । यस्तो आरोप लगाउनेमा उनको ‘पिए’ बनेर काम गरेका महिलाहरु पनि छन् ।

एजेन्सी । बेलायती पूर्वराजकुमारी डायनासँगै कार दुर्घटनामा मारिएका डोडी अल फायदका पिता तथा इजिप्टका अर्बपति मोहम्मद अल फयाद यतिबेला चर्चामा छन् ।

बेलायती लग्जरी डिपार्टमेन्टल स्टोर हेरड्सका पूर्वमालिक मोहम्मदमाथि महिलाहरुमाथि यौन शोषणको आरोप लागेको छ ।

पाँच महिलाहरुले एकै पटक मोहम्मदमाथि यौन शोषणको आरोप लगाएका छन् । हेरड्स स्टोरमा काम गर्ने क्रममा मोहम्मद अल फयादले उनीहरुलाई बलात्कार गरेको आरोप लागेको छ ।

बीबीसीमा प्रकाशित समाचार अनुसार हेरड्स स्टोरमा काम गरिसकेका २० महिला कर्मचारीहरुसँग सोधिएको थियो । जहाँ ती महिलाहरुले मोहम्मदले उनीहरुमध्ये कसैलाई यौन शोषण र केहीलाई बलात्कार गरेको बताएका छन् ।

मोहम्मद अल फयाद अहिले जीवित भने छैनन् । २०२३ मा ९४ वर्षको उमेरमा उनको निधन भइसकेको छ । तर मृत्युपछि पनि उनीमाथि लागेको बलात्कारको गम्भीर आरोपबारे चर्चा भइरहेको छ । जीवित छँदा मोहम्मदको यौन शोषणको मामिलाबारे उनीमाथि बनेको डकुमेन्ट्री र पोडकास्ट ‘अल फयाद-प्रिडेटर एट हेरड्स’मा पनि कतिपय रहस्यहरु खुलासा गरिएको छ ।

हेरड्सका हालका मालिकले भने अहिले मोहम्मदमाथि लागेका आरोपहरुले आफूलाई स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । साथै हेरड्सले ती घटनाप्रति माफी पनि मागेको छ । यौन दुर्व्यवहारको शिकार बनेका महिलाहरुको कानुनी अधिकारको पैरवी गर्ने कम्पनीका वकिल ब्रुस ड्रमोन्डले भने हेरड्सले भ्रष्टाचार र यस्ता दुर्व्यवहारबारे विश्वास नगर्ने बताएका छन् । र यसलाई ज्यादै डरलाग्दो संज्ञा दिएका छन् ।

बीबीसीमा प्रकाशित रिपोर्ट अनुसार हेरड्का केही पूर्वकर्मचारीहरुले बीबीसीको सम्पर्कमा आएर मोहम्मद अल फयादले आफूहरुमाथि यौन आक्रमण गरेको पनि बताएका थिए । र उनीहरुमाथि यस्ता घटना लन्डनसहित पेरिस, सेन्ट ट्रोपेज र अबुधाबीमा भएको बताइएको छ । यौन आक्रमणको शिकार हुनेमध्ये एक महिलाले त आफूलाई फयादले पार्क लेनको आफ्नो अपार्टमेन्टमा बलात्कार गरेको बताएकी छन् ।

त्यस्तै अर्की पीडित महिलाले त आफू किशोरी छँदा नै फयादबाट बलात्कृत भएको भन्दै भनेकी छन्, ‘मोहम्मद अल फयाद एक राक्षस थिए । यौन आक्रमण गर्ने शिकारी थिए । जसमा कुनै नैतिकता थिएन ।’ ती महिलाले हेरड्का सबै महिलाहरुलाई फयादले खेलौना जस्तो व्यवहार गर्ने गरेको पनि खुलासा गरेकी छन् । तर ती महिलाहरु आफूहरुलाई फयादले पूरा डरैडरमा राखेको बताउँछन् । फयादले नै योजनाबद्ध रुपमा नै उनीहरुलाई डर उत्पन्न गराउने गरेका थिए ।

फयादमाथि यौन शोषणको आरोप उनी जीवित हुँदादेखि नै लागेको थियो । हाल मृत्युपछि पनि उनीमाथि आरोपका श्रृंखला आइहेका छन्। तर यसअघि उनीमाथि यति गम्भीर प्रकृतिका आरोप भने लागेका थिएनन् । साथै उनीमाथि आरोप लगाउने हेरड्समा काम गरेका ती महिलाहरुबाहेक पनि छन् ।

महिलाहरु के भन्छन् ? को थिए मोहम्मद अल फयाद ?

फयादको व्यापारिक यात्रा मिश्रको अलेक्जेन्ड्रियाको गल्लीदेखि सुरु भएर लन्डनको विशाल उद्योगसम्म आइपुगेको छ । उनी एक सफल उद्यमी र अर्बपति थिए । सुरुका दिनमा उनी मिश्रका गल्लीहरुमा चाहार्दै कोल्ड ड्रिङ्स बेच्ने काम गर्थे ।

तर साउदी अरबका एक करोडपति हतियार डिलरकी बहिनीसँग विवाह गरेपछि उनको जीवनशैली चमत्कारिक रुपमा बदलियो । उक्त विवाहले उनलाई नयाँ सम्बन्ध बनाउन र आफ्नो व्यापार विस्तार गर्न सहयोग पुग्यो ।

मोहम्मद अल फयाद १९७४ मा बेलायत पुगेका थिए । १९८५ मा उनले हेरड्सको भवन आफ्नो बनाए । तर यसबेलासम्म उनी सक्षम व्यापारी बनिसकेका थिए । १९०० र २००० को दशकमा उनलाई नियमित रुपमा प्राइम टिभी च्याट र इन्टरटेनमेन्ट शो मा गेस्टको रुपमा बोलाइन्थ्यो । यसबीचमा उनका छोरा डोडीको तत्कालीन राजकुमारी डायनासँग राम्रो सम्बन्ध बनिसकेको थियो। तर १९९७ मा एक कार दुर्घटनामा उनीहरु दुबैको मृत्यु भयो ।

सामान्यतया मोहम्मद महिलाहरुसँग एक हँसीमजाक गर्ने मिजासिलो व्यक्तिका रुपमा प्रस्तुत हुन्थे । तर त्यो बाहिरी आवरण र उनका हर्कतहरुको यथार्थमा कुनै तालमेल नरहने उनी निकट महिलाहरु बताउँछन् । एक पीडित महिला भन्छिन्, ‘मोहम्मद एक घिनलाग्दो मान्छे थिए । उनले एक पटकभन्दा धेरै पटक बलात्कार गर्ने प्रयास गरेका थिए ।’

१९८८ देखि १९९१ सम्म मोहम्मदको पिएको रुपमा काम गरेकी सोफियाले भनेकी छन्, ‘जब मोहम्मदलाई मिलनसार व्यक्ति भनिन्छ मलाई त्यसमा रिस उठ्छ ।’ कतिपय पीडित महिलाहरुले त आफ्नो पहिचान खुलाएरै पनि मोहम्मदमाथि आरोप लगाएका छन् ।

हेरड्समा काम गरेका पूर्वकर्मचारी केही पुरुषहरुले पनि फयाद नियमित रुपमा आफ्नो डिपार्टमेन्टल स्टोरको विशाल सेल्स फ्लोरमा पुग्ने गरेको बताउँछन् । र त्यहाँ पुगेर आकर्षक महिलाहरु छनोट गर्ने गर्थे । र तिनको पद बढाउने अफर पनि गर्थे ।

र उनले महिलाहरुमाथि हेरड्सको कार्यालयमै वा लन्डनस्थित अपार्टमेन्टमा यौन आक्रमण गर्ने गरेको महिलाहरु बताउँछन् । यस्तै पेरिसमा रहेको रिट्ज होटेल पनि उनको अर्को गन्तव्य हुने गर्थ्यो । जवकि फयाद आफैं रिट्ज होटेलको मालिक थिए ।

कतिपय अवस्थामा उनी हेरड्सको कार्यालयमा एक महिलालाई शोषण गरेर कोठाबाट बाहिर निकालिरहँदा अर्की महिलालाई भित्र प्रवेश गराइरहेका पनि हुन्थे ।

१९९० को दशकमा पिएको रुपमा काम गरेकी राशेलले भनेकी छन्, ‘एक रात कामको लागि फयादले मलाई लग्जरी अपार्टमेन्टमा बोलाए । अपार्टमेन्ट लन्डनको हाइड पार्क नजिकै पार्क लेनको एउटा विशाल ब्लकमा थियो । भवन सुरक्षा गार्डबाट घेरिएको हुन्थ्यो । त्यसमा हेरड्सका कर्मचारीहरुले भरिएको अनसाइट अफिस थियो ।’

राशेलसहित अरु चार महिलाहरुले फयादमाथि बलात्कारको आरोप लगाएका छन् । कतिपय पीडितले भने हेरड्समा काम गर्नु आफ्नो बाध्यता रहेको पनि बताएका छन् । २००७ देखि २००९ सम्म पिए रहेकी उक महिलाले पनि आफूमाथि फयादले बलात्कार गरेको आरोप लगाएकी छन् ।

हेरड्सका काम गर्ने कतिपय पुरुषहरुले पनि मोहम्मदको विषयमा खुलासा गरेका छन् । महिलाहरुमाथि हुने दुर्व्यवहारबारे उनीहरुले खुलेर बोलेका छन् । र मोहम्मदले महिलाहरुलाई पूरा नियन्त्रणमा राखेका हुन्थे ।

विशेषगरी मोहम्मदको यौन शिकार बनेका महिलाहरु एकअर्कासँग कुराकानी गर्न पनि सक्दैनथे । यतिसम्म कि मोहम्मदले उनीहरुको फोन ट्याप समेत गर्थे । यसले पनि पीडित महिलाहरुलाई एकआपसमा कुरा गर्न कठिन हुन्थ्यो । यसबारे सुरक्षागार्डहरुले पनि पुष्टि गरेका छन् । फोन ट्यापिङ र क्यामेर पनि लगाएका हुन्थे ।

आज हेरड्सको स्वामित्व कतार सरकारको मातहत आएको छ। कतार लगानी प्राधिकरण अन्तर्गत यो एक लिमिटेडको रुपमा रहेको छ । साथै हाल यहाँका कर्मचारीहरु सबै सुरक्षित र पूरा सुविधा दिइएको हेरड्सले बताउने गरेको छ ।


क्लिकमान्डु