दुर्गा प्रसाईसँग २ करोड माग्ने ढाकाकुमार पक्राउ, प्रयोगकर्ताले उनकै फार्मेसीबाट किनेका थिए लागुऔषध



काठमाडौं । पूर्व सांसद डाक्टर ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ परेका छन् । लागुऔषध प्रयोगकर्ताले ढाकाकै फार्मेसीबाट नसाको औषधि किनेको बयान दिएका आधारमा उनी पक्राउ परेका हुन् ।

श्रेष्ठ रास्वपाबाट समानुपातिक सांसद थिए । तर, मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग टेलिफोन गरी २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई सांसद र पार्टी सदस्यबाट पार्टीले हटाएको हो ।

लागुऔषध ट्याबलेट ९७ चक्कीसहित पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका–४ बस्ने ४२ वर्षीय प्रकाश थापामगरले पोखरा–९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट सो लागुऔषध खरिद गरी ल्याएको बयान दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले जानकारी दिए ।

उनका अनुसार फार्मेसीका सञ्चालक डा श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

ढाकाले मेडिकल दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रूपैयाँ मागेकाले सो रकम दिएर सघाउन भनेको टेलिफोन संवादको अडियो सार्वजनिक भएको थियो ।


क्लिकमान्डु