समाजवाद उन्मुख राष्ट्रिय पुँजी आवश्यक: नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजी विकास सम्भव नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौती र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको बताए । पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको उनको भनाइ थियो ।

यस क्रममा उनले समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गरी त्यसलाई विस्तार गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने धारणा व्यक्त गरेका थिए । ‘नेपालमा कम्प्लिट भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति नै हो । सामन्तवादी उत्पादन सम्बन्ध छैन भनेपछि मुलभूत रुपमा कहाँ कहाँ खोज्नुहुन्छ के अरु कुरा ? अहिले सामन्तवादी उत्पादन ढाँचा छैन । अवशेषको रुपमा छ । त्यो भनेको पुँजीवादी उत्पादन ढाँचामै छ । राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जान सकिन्छ त भन्ने कुरा छ,’ नेता श्रेष्ठले भने ।

हाल यथावत रहेको पुँजीवादी बाटोबाट समाजवादी बाटोमा जान सम्भव नरहेको भन्दै उनले अब समाजवाद उन्मुख राष्ट्रिय पुँजी आवश्यक रहेको उनले बताएका थिए ।

नेता श्रेष्ठले भने, ‘एउटा कुरा प्रस्ट भन्न चाहन्छु, हामीले पहिला जस्तो राष्ट्रिय पुँजीको विकास गर्ने, पुँजीवादी बाटोबाटै र त्यसपछि समाजवादमा जान सम्भव छैन । राष्ट्रिय पुँजीको विकास अब समाजवाद उन्मुख नभइकन बन्दै बन्दैन । समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई विस्तार गर्दै एउटा फड्कोमा पुग्नुपर्छ ।’

तर नेपालमा हाल सामन्तवादी उत्पादन ढाँचा नरहेको पनि उनको टिप्पणी थियो । पुँजीवादी अर्थराजनीतिक व्यवस्थाबाटै समाजवादको यात्रा सम्भव छ कि सशस्त्र विद्रोहबाट समाजवादमा पुग्न सकिन्छ भन्ने विषयलाई लिएर नेपालका कम्युनिष्ट तथा वामपन्थी दलहरुबीच बारम्बार विवाद र बहस भइरहन्छ । देशबाट राजतन्त्र अन्त्य भइसकेकाले अब सामन्तवाद पनि अन्त्य भएको उनीहरुको बुझाइ छ । तर सामन्तवादको अवशेष बाँकी रहेको विषयमा पनि उनीहरुबीच मतभेद् हुने गरेको छ ।


क्लिकमान्डु