नेपाली बजारमा चिनियाँ ईभीको क्रेज, टिक्नकै लागि ईभी ल्याउनै पर्ने बाध्यतामा व्यवसायी



काठमाडौं । अमेरिकी ब्राण्ड फोर्ड गाडी बेचिरहेका जियो अटोमोबाइल्सले अहिले चिनियाँ ब्राण्ड केई ल्याएर बेच्न थालेको छ।  

नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) मात्रै बिक्री हुन अवस्था आएपछि कम्पनीले चिनियाँ ब्राण्ड ल्याएर बेच्न थालेको हो । कम्पनीले केईका तीनवटा मोडल ल्याएर बुकिङ थालेको छ ।

लक्ष्मी ग्रुपको लक्ष्मी इमोबिलिटीले पनि यहि ब्राण्ड ल्याएर बिक्री सुरु गरेको छ । लक्ष्मी समूह हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

सिजी ग्रुपले समेत चिनियाँ ब्राण्डका कारहरुप्रति आकर्षित भएको छ । सिजीले करिब तीन वर्ष पहिले नेटा ब्राण्डमार्फत ईभीमा छिरेको हो ।  सिजीले अहिले नेटा , एक्सपेङ, अवतार, रेडारा, किङलङ, केवाईसीलगायतका ब्राण्डहरु ल्याइसेकेको छ भने थप ब्राण्डहरु ल्याउन गृहकार्य गरिरहेको छ ।

अहिले नेपालका घरानाहरु नै चिनियाँ ब्राण्डहरु ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् ।

नाडाका उपाध्यक्ष तथा सिप्रदीका ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले चीनमा धेरै ब्राण्ड भएको र सरकारले सहुलियत दिएका कारण आयात भएको बताए । उनका अनुसार चिनियाँ गाडीहरुले तुलनात्मक रुपमा सस्तो भएका कारण पनि नेपाली बजारमा चलेको उनको भनाई छ ।

बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले आयात गरेको एट्टो थ्री नेपाल बजारमा अत्याधिक रुचाईको कार हो । यो कार करिब ४५०० युनिट बिक्री भएको दाबी गरिएको छ । बिवाईडीका डल्फिन,सिललगायतको समेत बिक्री राम्रो भएको दाबी छ ।

अहिले चिनियाँ ब्राण्ड दिपाल,सेरेस,ओमोडालगायतका कारहरु समेत नेपाली बजारमा चर्चा पाएका छन् ।

चिनियाँ ईभी ल्याउने बाहेकका अधिकांश कम्पनी नोक्सानीमा छन् । उनीहरु सर्भाइभ गर्न ईभी ल्याउने प्रतिस्पर्धामा छन् ।

नाडा अटो शोलाई लक्षित गरेर एमडब्लुले ल्याएका नामी ब्राण्डको कार समेत अत्याधिक रुचाईको छ । यो कारको ३०० युनिट अटो शो मा नै बुकिङ भएको छ । कम्पनीले यो कारको तीनवटा मोडल सार्वजनिक गरेको छ । नामी ई को मूल्य २९ लाख ९९ हजार रुपैयाँ, नामी ई २ को ३१ लाख ९९ हजार र नामी ई ३ को ३४ लाख ९९ हजार रुपैयाँ पर्छ ।

नामी चिनियाँ कम्पनी डङफेङ मोटर्सले उत्पादन गरेको गाडी हो । नामीमा ७० किलोवाटको मोटर पावर छ । नामी बक्सको ठूलो ब्याट्री अप्सनले ३१० किलोमिटर रेन्ज दिन्छ । नामीको टप स्पीड १४० किलोमिटर प्रतिघण्टा छ ।

सरकारले ईभीमा दिएको सहुलियतका कारण नेपालमा चिनियाँ ईभीको बाढी आएको हो । सरकारले अफोर्डयबल होस् भन्नका लागि आयातममा लाग्ने करमा सहुलियत दिएको हो । कतिपयले भने चिनियाँ ईभीको मछली बजारको बनेको टिप्पणी गरेका छन् । अहिले नेपाली बजारमा ३० हजार ईभी छन् । गत वर्ष नेपाली बजारमा ईभीको पेनिटेसन ६२ प्रतिशत पुगेको छ ।

टाटाका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइसीईको बजार खस्किन थालेपछि ईभी ल्याएर बिक्री थाल्यो । कम्पनीले ल्याएको इन्ट्री लेभलको टियागा नेपाली बजारमा रुचाइयो । कम्पनीले ल्याएको करिब एक वर्षमा झण्डै २००० युनिट बिक्री गर्‍यो । नाडा अटो शो को अवसर पारेर कम्पनीले अहिले टाटा पन्च ईभी ल्याएको छ । सस्तो मूल्यमा पाइने यो एसयुभी ईभी लोकप्रिय बनिसकेको छ । अटो शो मा नै ३०० युनिटभन्दा धेरै बिक्री भइसकेको छ ।

नाडा अटो शो चिनियाँ ईभी अटो शो बनेको छ । दुई/तीनवटा बाहेक सबै ब्राण्ड ईभीका छन् । अधिकांश स्टलहरुले चिनियाँ ईभी ल्याउन कम्पनीले लिएका छन् । दुईपाङ्ग्रेमा समेत दर्जनबढी ब्राण्ड छन् ।

चीनमा ठूलो संख्यामा स्टार्ट अप कम्पनीले ईभी बनाउन थालेका कारण नेपालमा आयात बढेको  हो । दर्जनौं यस्ता कम्पनीले चीनमा ईभी उत्पादनमा काम गरिरहेका छन् ।

सरकारले ईभीमा प्रोत्साहन गर्ने करमा सहुलियत दिए पनि न्युनतम मापदण्ड बनाउन सकेको छैन् । भर्खर अध्ययन थालेको छ । सोही कारण नेपाल चिनियाँ ईभीको डम्पिङ साईट बन्ने खतरा रहेको विज्ञहरुले चेतावनी दिएका छन् ।


क्लिकमान्डु