रवि लामिछाने शुक्रबार सहकारी छानबिन विशेष समितिमा बयान दिन जाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यही शुक्रबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा सोधपुछका लागि जाने भएका छन् ।

आज (बुधबार) बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले शुक्रबार समितिको बैठकमा जाने जानकारी गराएका हुन् ।

पार्टी स्रोतका अनुसार सभापति लामिछानेले बैठकमा आफूलाई भदौ सात गतेको बैठकमा सोधपुछका लागि बोलाएको र बैठकमा गएर आफ्नो कुरा स्पष्ट रुपमा ढुक्कसँग राख्ने जानकारी गराएका छन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सभापति लामिछाने जोडिएका छन् ।

लामिछानेले कुनै प्रकृया पूरा नगरी बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २ करोड रुपैयाँ कर्जा लिएको खुलासा भएको छ । लामिछानेले उक्त रकम २०७७ चैत १८ गते लिएका हुन् ।

लामिछानेको नाममा २ करोड रुपैयाँ व्यापार कर्जा स्वीकृत भएको छ । जसमा सहकारीले ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा गरेको वैशाख ३ गते सोमबार अदालतमा दायर भएको मुद्दामा उल्लेख छ ।

समितिले लामिछानेसहित २६ जनासँग सोधपुछ गर्ने योजना बनाएको थियो । त्यसमध्ये अधिकांशसँग सोधपुछ गरिसकेको छ ।समितिको कार्यविधिको अनुसूची १ र २ मा भएका २९ वटा संस्थामा लामिछाने पनि संलग्न रहेको पाइएको छ ।

रास्वपाका सभापति लामिछानेका व्यवसायीक साझेदार समेत रहेका सानो पाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग गर्ने गितेन्द्र बहादुर (जिबी राई) हाल फरार रहेका छन् । समितिले राई लगायत २० जनालाई जुन देशमा भए पनि स्वदेश ल्याउन यसअघि नै निर्देशन दिसकेको छ ।

समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसहित चार जनासँग सोधपुछ गरेको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसँग कास्की कारागारबाट समितिको बैठकमा ल्याई सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले बताए ।

समितिले विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक शिवकुमार गुरूङ (महेन्द्र भोटे)लाई कास्की सुधार गृहबाट ल्याएर सोधपुछ गरेको हो ।

यस्तै समितिले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक तथा सफ्टवेयर डेभलपर भविश्वर अर्याललाई पनि कारागारबाट ल्याएर सोधपुछ गरेको छ ।

समितिले साउन ३० गते स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठसँग पनि सोधपुछ गरिएको सभापति थापाले बताए ।

समितिले रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यसँग सोधपुछ गरिसकेको छ ।
सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा मुछिएका गोरखा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रडक्सन प्रालिका संचालक आचार्यसँग समितिले आइतबार सोधपुछ गरेको छ ।

सहकारीबाट २०७८ पुस १२ गते विपिन कुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको थियो । उनले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको जिल्ला अदालत रुपन्देहीमा वैशाख ३ गते दायर भएको अभियोगपत्रमा उल्लेख छ ।

अभियोग पत्रमा उल्लेख भए अनुसार २०७७ कात्तिक ६ विपिन कुमार आचार्यको नोबडी प्रोडक्सन कम्पनीको नाममा रहेको एनआईसी एशिया बैंकको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिएको थियो ।


क्लिकमान्डु