सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुँदै



काठमाडौं । नेपाल सरकारले एक सय दिनमा गर्ने कामहरुको योजना सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएकी छन् ।

नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गत वर्षभन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने दाबीसमेत गरिन् । गत वर्षभन्दा यस वर्ष बजेटमा उल्लेखित कार्यक्रमहरु कार्यान्वयन हुने र बजेट पनि खर्च हुने मुख्यसचिव गड्तौलाको दाबी थियो । उनले आफूले बजेटबारे धेरै बोल्न नमिल्ने पनि बताएकी थिइन् ।

सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने मुख्य सचिव गडतौलाको स्पष्टिकरण थियो । ‘नेपाल सरकारले अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के के हुन् ? भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याउँदैछ । त्यो सय दिनभित्र गर्ने काम धेरै नै यहाँ पर्ने मैले महशुस गरेको छु,’ मुख्यसचिव गड्तौलाले भनिन् ।

मुख्यसचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न सचिवहरुलाई निर्देशन समेत दिएकी थिइन् । उनले जिम्मेवार निकायमा बस्नेहरुले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने बताइन् ।


क्लिकमान्डु