स्टार्टअप बिजनेस अगाडि बढाउन सरकार तयार छ: अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सबै सिर्जनशील युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरेका थिए ।

युवाहरुलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रहसमेत गरेका थिए । अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सदुपयोग गर्न अग्रसर हुनका लागि आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको छोटो समयमै जनतामा केही हुन्छ भन्ने आशा जागृत भएको भन्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रका समस्याहरु एक/एक गरेर केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको विस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा अर्थतन्त्रलाई सबल बनाउने बताएका थिए ।

उपप्रधानमन्त्री पौडेलले अर्थतन्त्रका केही सूचकहरु सकारात्मक बन्दै गएको पनि बताए । उनले भनेका छन्, ‘सबै सिर्जनशील युवा युवतीहरुलाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन र देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गर्न चाहन्छु । स्टार्टअप बिजनेसलाई अघि बढाउने सन्दर्भमा आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर छ ।’

यसका लागि प्रधानमन्त्रीले पनि मन्त्रीहरुलाई स्पष्ट दिशा निर्देश गरेको अर्थमन्त्री पौडेलको भनाइ थियो । सबै युवा युवतीहरुलाई देशभित्र रहेर उत्पादन र रोजगारीका नयाँ अवसर सिर्जना गर्नका लागि सिर्जनशील ढंगले अघि बढ्न पनि उनले सबैलाई आग्रह गरे ।

‘विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुनका निम्ति पनि हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु । आउने दिनमा स्टार्टअप बिजनेसले नयाँ उचाई प्राप्त गर्नेछ । यो सरकारको जिम्मेवारी सम्हालेको छोटो अवधिमा आम नागरिकहरुमा सरकारप्रतिको विश्वास, सरकारले लिएका निर्णयहरुप्रतिको विश्वास र सरकारले चाल्ने सम्भावित कदमहरुकाप्रति आम नागरिकमा विश्वास जागृत हुँदै गएको पाएको छ,’ अर्थमन्त्री पौडेलले भने ।

अर्थतन्त्रका समस्याहरुलाई केलाउँदै, समाधान गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको विस्तार, व्यापार घाटाको अन्त्य लगायत गतिविधिद्वारा नेपाल सरकारले अर्थतन्त्रलाई सबल बनाउन सक्ने र यसका केही सूचकहरु सकारात्मक देखिएको उनको दाबी थियो ।


क्लिकमान्डु