न्यारोबडी र वाइडबडी पालैपालो ७ महिनासम्म थन्किँदा निगमको व्यालेन्ससीटमा असर, एक अर्ब आम्दानी गुम्यो



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका ४ वटा जहाजमध्ये पालैपालो २ वटा जहाज लामो समयसम्म थन्किँदा निगमको ब्यालेन्ससीटमै असर परेको छ ।

निगमको ५ महिना एक न्यारोबडी जहाज इजरायलमा थन्किएर फर्किएर लगत्तै वाइडबडी मर्मतको लागि इटली गएको छ । इटली गएको जहाज पछिल्लो दुई महिनादेखि उतै अलपत्र हुँदा गत आर्थिक वर्ष २०८०/८१ को निगमको आम्दानी नै एक अर्ब रुपैयाँले घटेको छ ।

निगमले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १६ अब ४९ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानी गत आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ४३ करोड रुपैयाँ मात्रै छ । यस्तो आम्दानी गत वर्ष १ अर्ब ६ करोड रुपैयाँले घटेको निगमले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।

निगमको यस्तो आम्दानी घट्नुमा गत मंसिरदेखि लगातार वैशाख दोस्रो सातासम्म एउटा न्यारोबडी थन्कनु र अर्को एउटा वाइडबडी पनि असार पहिलो साता इटाली गएको जहाज भदौ ८ मा दुई महिना पुग्दासमेत अझै फर्किने निश्चित छैन । निगमको अन्तर्राष्ट्रिय उडानका दुबै जहाज एक पछि अर्को गरेर थन्किँदा निगमलाई गत आर्थिक वर्ष १ अर्ब रुपैयाँभन्दा बढी घाटा लागेको तथ्यांकले देखाएको छ ।

नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष २०८०/८१ मा ६ लाख २५ हजार १०५ जना यात्रुलाई उडाएर १५ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

निगमको यस्तो आम्दानी गत वर्ष २०७९/८० मा ६ लाख ४६ हजार यात्रुलाई उडाउँदा १६ अर्ब ४९ करोड रुपैयाँ भएको पनि निगमले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । निगमले जहाज उडाएर गरेको यस्तो आम्दानीमा आन्तरिक उडानको हिस्सा न्यून छ भने आन्तर्राष्ट्रिय उडानबाट भएको आम्दानीबाट निगम धानिएको छ ।

तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक उडानमा जम्मा १८ हजार ६१० यात्रु उडाएको छ । यस्तो यात्रु उडाउँदा निगमले १२ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको देखिएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानमा भने गत २०८०/८१ मा ५ लाख ८५ हजार ८५९ यात्रुलाई सेवा दिँदा दिएको छ । यस्तो सेवाबाट निगमले गरेको आन्दानी आम्दानी १५ अर्ब ३० करोड रुपैयाँ भएको थियो । निगमले गत आबमा गरेको १५ अर्ब ४३ करोड रुपैयाँको यस्तो आम्दानीमा सबैभन्दा बढी गत वर्ष असोज कात्तिकमा गरेको थियो । गत वर्ष निगमले असोज कात्तिकको दुई महिनामा ३ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यसपछि अरु महिनामा गरेको आम्दानी यो समयको भन्दा कम छ ।

आन्तरिक उडानमा एउटा मात्रै जहाज

निगमसँग आन्तरिक उडानमा जहाज संख्या कम भएकै कारण यात्रु सेवा प्रभावित हुन पुगेको छ । निगमसँग भएको दुईवटा ट्वीनअटर मध्ये गत असारमा एउटाको इन्जिनमा समस्या भएर मर्मतमा गएकोले एउटा मात्रै उडानमा आएको थियो । जसका कारण असारमा आन्तरिक उडानमा जम्मा २३६ यात्रु मात्रै बोकेको छ । त्यसो त निगमले अघिल्लो वर्ष पनि असारमा ३९७ मात्रै यात्रु बोकेको थियो ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेका अनुसार वर्षातको समयमा दुर्गम क्षेत्रमा मौसमको कारण उडान नै हुँदैन । वर्षातको समयमा दुर्गम क्षेत्रमा उडान नै हुन नसक्ने, उडान हुँदा पनि कम मात्रै हुने भएकोले पनि अन्य समयको तुलनामा वर्षातमा वर्षेनी उडान कम हुँदा यात्रु सेवा पनि घटेको देखिएको हो ।

गत असारमा भने निगमको दुईवटा ट्वीनअटर मध्ये एउटा मर्मतमा रहेकोले एउटा मात्रै प्रयोगमा छ । जसका कारण निगमले यात्रु सेवा कम दिएकोले आन्तरिक उडानको आम्दानी पनि कम भएको हो ।

अन्तर्र्राष्ट्रिय उडानमा भने लामो समय मर्मतमा गएका जहाज नफर्कदा त्यसको असर कुल आम्दानीमा परेको निगमका प्रवक्ता पौडेलले स्वीकार गरे । उनका अनुसार गत वर्ष जहाज उडाएर कम भएको आदानीलाई ग्राउण्ड ह्याण्डलिङ (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ सेवा)ले कभर गर्ने छ । निगमले विदेशी वायुसेवालाई यात्रु उडान र अवतरणमा दिँदै आएको यो सेवाबाट गत वर्ष साढे ४ देखि ५ अर्ब रुपैयाँ आम्दानी गरेको अनुमान पौडेलको छ । उक्त आम्दानीबाट निगमलाई अघिल्लो आर्थिक वर्षको तुलनामा घाटा कम हुने पनि उनको बुझाई छ ।


राजु बास्कोटा