न्यायाधीशले धम्की दिए भन्दै एलन मस्कले बन्द गरे ब्राजिलको एक्स अफिस



एजेन्सी । ट्विटरको रुपमा चिनिने सामाजिक सञ्जाल एक्सले ब्राजिलमा आफ्नो कामकाज बन्द गरेको छ । एक्सका सीईओ एलन मस्कले यसबारे पहिले नै जानकारी दिएका थिए । उनले ब्राजिलको सर्वोच्च अदालतको सेन्सरसिपको फैसलालाई यसको जिम्मेवार भएको दाबी गरेका छन् ।

मस्कले एक्समा लेखेका छन्, ‘सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्डर डी मोरेसको अवैध सेक्रेट सेन्सरसिप र निजी जानकारी पठाउने मागको कारण हामीले ब्राजिलमा एक्स अफिस बन्द गर्ने फैसला गरेका छौं । यो फैसला कठिन थियो । तर हामीसँग लज्जास्पद हुँदै आफ्नो कामको व्याख्या गर्ने कुनै तरिका थिएन ।’ यद्यपि ब्राजिलका एक्स प्रयोगकर्ताले भने नियमित रुपमा एक्स चलाइरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक्सको यस्तो कदम गलत सूचना तथा जानकारीहरु रोक्नका लागि एक्सका अधिकारीहरु र ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशसँग विवादपछि आएको हो । यस्तै एक्सले त्यहाँका न्यायाधीश मोरेसले एक्सका एक कानुनी प्रतिनिधिलाई गिरफ्तार गर्ने धम्की दिएको पनि दाबी गरेको छ ।

एक्सको ग्लोबल गभर्मेन्ट अफेयर्स टिमले आफ्नो अफिसियल एकाउन्टमा पोस्ट गरेका कारण न्यायाधीश अलेक्जेन्डर डी मोरेसले धम्की दिएको जनाएको छ । साथै कम्पनीले मोरेसले एक गोप्य आदेशमा धम्की दिएको जनाएको छ । जसलाई एक्सले सेयर पनि गरेको थियो ।

कम्पनीले ब्राजिलमा कानुन पालना गर्दा पनि न्यायाधीश मोरेसले आफ्ना कर्मचारीहरुलाई डर देखाएको र धम्काएको उल्लेख गरेको छ । न्यायाधीश मोरेसले कम्पनीका एक कानुनी प्रतिनिधिलाई उनले एक्सको केही कन्टेन्ट नहटाए गिरफ्तार गर्ने धम्की दिएका थिए ।

एक्सले भने सर्वोच्च अदालतमा आफ्ना केही अपिलको सुनुवाइ नभएको पनि गुनासो गरेको छ । जसले गर्दा आफ्ना कर्मचारीहरुको सुरक्षाका लागि ब्राजिलमा आफ्नो सेवा तुरुन्त बन्द गर्ने निर्णय गरेको मस्कले बताए । तर न्यायाधीश अलेक्जेन्डरले एक्सको आरोपबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच मस्कले ब्राजिलियन न्यायाधीशलाई हटाउने माग गरेका थिए । उनले ७ अप्रिलमा ब्राजिलका सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्डर डी मोरेसलाई हटाउने माग गरेका थिए । मस्कले उनलाई राजीनामा नदिए सरकारले महाभियोग लगाएर हटाउनुपर्ने बताएका थिए ।

यसअघि न्यायाधीश मोरेसले केही प्रभावशाली व्यक्तिहरुका एकाउन्ट ब्लक गर्ने आदेश दिएका थिए । यदि त्यसो नगरे एक्सको पहुँचमा टकअफ गर्ने वा जरिवाना लगाउने धम्की दिएका थिए । न्यायाधीश मोरेसले एक्सलाई आपराधिक साधनको रुपमा प्रयोग गरिएको भन्दै यसमाथि सेन्सरसिपको आदेश दिएका थिए । र उक्त आदेशपछि मस्कले ती न्यायाधीशलाई हटाउनुपर्ने प्रतिक्रिया दिएका थिए ।

यस्तै ब्राजिलको सर्वोच्च अदालतले त्यहाँका पूर्वराष्ट्रपतिलगायत केही व्यक्तिका एकाउन्ट प्रतिबन्ध लगाउन आदेश दिएको थियो । तर यस्तो फैसलाले एक्सका उच्च अधिकारीहरु अदालतको फैसलाप्रति रुष्ट बनेका हुन् ।


क्लिकमान्डु