सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो हुँदा कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार सुन तोलामा ८ सयले बढेर १ लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपाली बजारमा कतिसम्म पुग्ला सुनको मूल्य ?

सामान्यतया सुनको मूल्य अन्तर्राष्ट्रिय बजार अनुरुप नै नेपालमा पनि मूल्य तोकिएको हुन्छ । तर पछिल्लो समय सुनको मूल्य वृद्धि भएको विषयले नेपाल मात्रै नभएर विश्वका अन्य धेरै देशमा यसले चर्चा पाइरहेको छ ।

पछिल्लो २०२३ को डिसेम्बरदेखि २०२४ को अप्रिलसम्मको ५ महिनाको अवधिलाई हेर्ने हो भने ५ महिनाको उक्त अवधिमा सुनको मूल्यमा प्रति १० ग्राम ११ हजारले वृद्धि भयो ।

सुनको उत्पादन सीमित हुन्छ । तर पछिल्लो समय सुनको माग अत्यधिक रुपमा यसको मूल्यमा पनि तीब्र रुपमा वृद्धि भएको छ । विशेषगरी विभिन्न देशमा युद्ध र तनाब बढिरहँदा चीन, अमेरिका, भारत जस्ता देशका केन्द्रीय बैंकहरुले सुनको सञ्चय बढाइरहेका छन् । अर्थात् ती देशहरुले सुनको माग पहिलेभन्दा धेरै बढाइरहेका छन् ।

दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको केन्द्रीय बैंकले मात्रै २०२२ को नोभेम्बरदेखि हालसम्म २ वर्षभन्दा कम अवधिमा करिब ३५० टन सुन खरिद गरिसकेको छ ।

२०२३ मा मात्रै चीन विश्वकै सबैभन्दा धेरै सुन खरिद गर्ने देशको रुपमा रह्यो । त्यसो त चीन सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशको रुपमा चिनिन्छ । तैपनि उसले खरिद पनि धेरै नै गरिरहेको हुन्छ । यस वर्षको जनवरीदेखि अप्रिलसम्म मात्रै चीनले २८.९ टन सुन खरिद गरेको छ ।

तर पछिल्लो दुई महिना मे र जुनको सुरुमा खरिद कम गरे पनि जुनको अन्त्यसम्म भने चीनले २ हजार २ सय ६४ टन सुन सञ्चय गरिसकेको छ । यसरी हेर्दा चीनले कोरोना महामारीभन्दा पहिलेको समय २०१८ को अन्त्यमा सुन सञ्चय गरेको तुलनामा हाल २२ प्रतिशतले बढी सुन सञ्चय गरेको हो ।

चीनमा पछिल्लो समय घरजग्गाको व्यापार र सेयर बारोबारमा शिथिलता आएर व्यवसायीहरु निरुत्साहित भइरहँदा आम व्यवसायी तथा उपभोक्ताहरु पनि सुरक्षित लगानीको रुपमा सुनको खरिद बढाइरहेका छन् । त्यसो त चिनियाँ केन्द्रीय बैंकले अप्रत्यसित रुपमा सुनको सञ्चय बढाइरहनुलाई कतिपयले आलोचना पनि गर्दै आएका छन् ।

यसैगरी भारतको केन्द्रीय बैंकले २०२४ को मार्चमा मात्रै ५ टन सुन खरिद गरेको छ । र यस वर्षको सुरुको ३ महिनामा भारतीय केन्द्रीय बैंकले १९ टन सुन खरिद गरिसकेको छ । जवकि २०२३ को वर्षभर भारतले जम्मा १६ टन सुन खरिद गरेको थियो ।

यसैगरी पछिल्लो १० महिनाको अवधि हेर्दा सबैभन्दा ठूलो सुन खरिदकर्ता पोल्यान्डको केन्द्रीय बैंक थियो । त्यसपछि टर्की थियो भने तेस्रोमा भारतको केन्द्रीय रिजर्भ बैंक थियो ।

विश्व सुन काउन्सिलको तथ्यांक अनुसार २०२३ मा मात्रै विश्वभरका केन्द्रीय बैंकहरुले १ हजार ३७ टन सुन खरिद गरेका थिए । २०२३ मा चीन सबैभन्दा ठूलो सुन खरिदकर्ता देश भए पनि यसको सञ्चय भने अमेरिकासँग धेरै छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सुनको मूल्य अझै बढ्ने अनुमान गरेका छन् ।

सन् २०२४ को अन्त्य (पुस-माघ)सम्ममा सुन प्रतिऔंस ३ हजार डलरसम्म पुग्ने अनुमान पनि गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार डलर मूल्य पुग्यो भने नेपाली बजारमा सुनको मूल्य १ लाख ८१ हजार रुपैयाँ आसपास पुग्न सक्ने व्यवसायी बताउँछन् । प्रतिऔंस सुनको तोल ३१.१ ग्राम हुन्छ ।


क्लिकमान्डु