वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई सर्वोच्च अदालतको आदेश



काठमाडौं । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि त्यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।

उक्त आदेश विरुद्ध यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्ने दावीका साथ सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो ।

यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्यातीप्राप्त तथा नेपालको सर्वाधिक लोकप्रिय वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरि वाइवाइ जस्तै देखिने र्‍यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको सीजी फुड्सले जनाएको छ ।

चार दशक लगाएर वाइवाइले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको सीजी फुड्सको भनाई छ ।

यशोदा फुड्सले वाइवाइको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत प्रयास गरेको थियो । उच्च अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो ।

यो आदेशले वाइवाइको नक्कल गरि बजारमा पठाईएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने सीजी फुड्सले जनाएको छ । अदालतको यो आदेशले वौद्धिक सम्पत्ति चोरि गरी नाजायज फाइदा उठाउन खोज्ने प्रवृत्तीलाई निरुत्साहित गरेको सीजी फुड्सको भनाइ छ ।


क्लिकमान्डु