सुनको मूल्य अहिलेसम्मकै महँगो, कतिसम्म पुग्ला?



काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै सबैभन्दा महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यभने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार सात सय ४० मा कारोबार भइरहेको महासंघले बताएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्य अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकोले त्यसको प्रभाव नेपाली बजारमा परेको बताउँछन् ।

‘सुन अन्तर्राष्ट्रिय बजारमा बढिरहेको छ त्यसको प्रभाव यहाँ पर्ने हो,’ शाक्यले क्लिकमान्डुसँग भने, ‘पछिल्लो समय मूल्य बढ्नुमा हाम्रो आन्तरिक कारण पनि छन् ।’

शाक्य अमेरिकी डलर महँगो भइरहँदा पनि सुनको मूल्य वृद्धिमा असर गरिरहेको बताउँछन् ।

सरकारले भन्सार दरमा गरेको वृद्धिले नेपाली बजारमा सुनको मूल्य बढ्नुमा प्रभाव पारेको उनको भनाइ छ ।

‘सरकारले सुनमा गरेको भन्सार दरको वृद्धिले नेपाली बजारमा सुनको मूल्य बढिरहेको हो,’ शाक्यले भने, ‘यसलाई सम्बोधन नगरे सुनको मूल्य थप बढ्न सक्छ ।’

चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत सरकारले सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार दरलाई वृद्धि गरेको थियो । बजेटमार्फत १५ प्रतिशतको भन्सार दरलाई २० प्रतिशत पुर्‍याउँदा स्थानीय बजारमा सुनको भाउ बढेको शाक्यको दाबी छ ।

भन्सार दर बढेपछि सुन चाँदी व्यवसायीहरुले तत्कालीन अर्थमन्त्री वर्षमान पुनलाई उक्त निर्णय खारेज गर्न माग गर्दै ध्यानाकर्षणसमेत बुझाएका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सुन आयातमा वृद्धि गरिएको निर्णय तत्काल खारेज गर्न माग गर्दै आएका छन् ।

सरकारले भन्सार दरलाई सम्बोधन नगरे सुनको मूल्य अझै बढ्ने चेतावनी व्यवसायीको छ । ‘सरकारले यसलाई कुनै न कुनै रुपमा सम्बोधन गर्नैपर्छ,’ शाक्यले भने, ‘अन्यथा यसको प्रभाव बजारमा नराम्रोसँग पर्ने देखिन्छ ।’ सरकारले भन्सार महसुल विधेयक २०८० मार्फत सुनको आयातमा भन्सार वृद्धि गरेको थियो ।

डलर कमजोर हुँदा र ब्याजदर कम भयो भने सामान्यतया सुनको मूल्य बढ्ने व्यवसायी बताउँछन् । अहिले डलरको भाउ अवमूल्यन नभए पनि ब्याजदर घट्ने भएपछि सुनको मूल्य बढेको हुन सक्ने उनीहरुको भनाइ छ ।

नेपाली बजारमा सुनको मूल्य वृद्धिमा अन्य स्थानीय‍ कारणहरुले त्यतिधेर प्रभाव भने नपार्ने शाक्य बताउँछन् ।

‘कतिपयले बिहेको सिजन लगायतका कारणले सुनको मूल्य बढिरहेको बताइरहेका हुन्छन्,’ शाक्यले भने, ‘तर, त्यतिधेरै प्रभाव पार्ने गरि नेपाली बजारमा सुनको मूल्य वृद्धि हुँदैन । बढ्नुका पछाडि अन्तर्राष्ट्रिय कारण बढी हुन्छ ।’

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मध्यपूर्वमा बढ्दो तनाव, केही कमजोर अमेरिकी आर्थिक आँकडा र फेडरल रिजर्भको कमजोर कमजोरीका कारण सुनको मूल्य बढिरहेको हो ।

पछिल्लो समय मध्यपूर्वमा बढिरहेको तनाबले विश्व राजनीतिलाई तरंगित पारिरहँदा त्यसले सुन लगायतका धातुको व्यापारलाई प्रत्यक्ष असर पारिरहेको छ । विशेषगरी सुनको कारोबारलाई त्यसले प्रभावित बनाइरहेको छ । र यो असर नेपालसम्मै पर्दा एक तोला सुन खरिदका लागि डेढ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था बनेको हो ।

नेपाली बजारमा कतिसम्म पुग्ला सुनको मूल्य ?

सामान्यतया सुनको मूल्य अन्तर्राष्ट्रिय बजार अनुरुप नै नेपालमा पनि मूल्य तोकिएको हुन्छ । तर पछिल्लो समय सुनको मूल्य वृद्धि भएको विषयले नेपाल मात्रै नभएर विश्वका अन्य धेरै देशमा यसले चर्चा पाइरहेको छ ।

पछिल्लो २०२३ को डिसेम्बरदेखि २०२४ को अप्रिलसम्मको ५ महिनाको अवधिलाई हेर्ने हो भने ५ महिनाको उक्त अवधिमा सुनको मूल्यमा प्रति १० ग्राम ११ हजारले वृद्धि भयो ।

सुनको उत्पादन सीमित हुन्छ । तर पछिल्लो समय सुनको माग अत्यधिक रुपमा यसको मूल्यमा पनि तीब्र रुपमा वृद्धि भएको छ । विशेषगरी विभिन्न देशमा युद्ध र तनाब बढिरहँदा चीन, अमेरिका, भारत जस्ता देशका केन्द्रीय बैंकहरुले सुनको सञ्चय बढाइरहेका छन् । अर्थात् ती देशहरुले सुनको माग पहिलेभन्दा धेरै बढाइरहेका छन् ।

दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको केन्द्रीय बैंकले मात्रै २०२२ को नोभेम्बरदेखि हालसम्म २ वर्षभन्दा कम अवधिमा करिब ३५० टन सुन खरिद गरिसकेको छ ।

२०२३ मा मात्रै चीन विश्वकै सबैभन्दा धेरै सुन खरिद गर्ने देशको रुपमा रह्यो । त्यसो त चीन सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशको रुपमा चिनिन्छ । तैपनि उसले खरिद पनि धेरै नै गरिरहेको हुन्छ । यस वर्षको जनवरीदेखि अप्रिलसम्म मात्रै चीनले २८.९ टन सुन खरिद गरेको छ ।

तर पछिल्लो दुई महिना मे र जुनको सुरुमा खरिद कम गरे पनि जुनको अन्त्यसम्म भने चीनले २ हजार २ सय ६४ टन सुन सञ्चय गरिसकेको छ । यसरी हेर्दा चीनले कोरोना महामारीभन्दा पहिलेको समय २०१८ को अन्त्यमा सुन सञ्चय गरेको तुलनामा हाल २२ प्रतिशतले बढी सुन सञ्चय गरेको हो ।

चीनमा पछिल्लो समय घरजग्गाको व्यापार र सेयर बारोबारमा शिथिलता आएर व्यवसायीहरु निरुत्साहित भइरहँदा आम व्यवसायी तथा उपभोक्ताहरु पनि सुरक्षित लगानीको रुपमा सुनको खरिद बढाइरहेका छन् । त्यसो त चिनियाँ केन्द्रीय बैंकले अप्रत्यसित रुपमा सुनको सञ्चय बढाइरहनुलाई कतिपयले आलोचना पनि गर्दै आएका छन् ।

यसैगरी भारतको केन्द्रीय बैंकले २०२४ को मार्चमा मात्रै ५ टन सुन खरिद गरेको छ । र यस वर्षको सुरुको ३ महिनामा भारतीय केन्द्रीय बैंकले १९ टन सुन खरिद गरिसकेको छ । जवकि २०२३ को वर्षभर भारतले जम्मा १६ टन सुन खरिद गरेको थियो ।

यसैगरी पछिल्लो १० महिनाको अवधि हेर्दा सबैभन्दा ठूलो सुन खरिदकर्ता पोल्यान्डको केन्द्रीय बैंक थियो । त्यसपछि टर्की थियो भने तेस्रोमा भारतको केन्द्रीय रिजर्भ बैंक थियो ।

विश्व सुन काउन्सिलको तथ्यांक अनुसार २०२३ मा मात्रै विश्वभरका केन्द्रीय बैंकहरुले १ हजार ३७ टन सुन खरिद गरेका थिए । २०२३ मा चीन सबैभन्दा ठूलो सुन खरिदकर्ता देश भए पनि यसको सञ्चय भने अमेरिकासँग धेरै छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सुनको मूल्य अझै बढ्ने अनुमान गरेका छन् ।

सन् २०२४ को अन्त्य (पुस-माघ)सम्ममा सुन प्रतिऔंस ३ हजार डलरसम्म पुग्ने अनुमान पनि गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार डलर मूल्य पुग्यो भने नेपाली बजारमा सुनको मूल्य १ लाख ८१ हजार रुपैयाँ आसपास पुग्न सक्ने व्यवसायी बताउँछन् । प्रतिऔंस सुनको तोल ३१.१ ग्राम हुन्छ ।


क्लिकमान्डु