हिन्डनबर्गको खुलासापछि चर्चामा रहेकी माधवी को हुन्, अडानी ग्रुपसँग उनको के साँठगाँठ ?



भारतीय धितोपत्र बोर्ड (सेबी) को अध्यक्ष माधवी पुरी बुचको अवैध लगानीबारे हिन्डनबर्गले खुलासा गरेसँगै उनीमाथि छानबिन गर्नुपर्ने माग भइरहेको छ । भारतीय धितोपत्र बोर्डको पहिलो महिला अध्यक्ष माधवी को हुन् ? विवादित गौतम अडानी ग्रुपसँग उनको के सम्बन्ध छ ?

एजेन्सी । अमेरिकी रिसर्च कम्पनी हिन्डनबर्गले भारतीय धितोपत्र बोर्ड (सेबी) की अध्यक्ष माधवी बुच पुरीको अवैध लगानीबारे खुलासा गरेपछि माधवी यतिबेला निकै चर्चामा छिन‍् । उनी मात्रै हैन माधवीका पति धवल बुचमाथि पनि गम्भीर प्रश्न उठिरहेको छ ।

माधवी बुचले पति धवलसँग मिलेर बरमुडा/मरिससमा लगानी गरेको विषयलाई लिएर यतिबेला भारतीय राजनीति तातेको छ । प्रतिपक्षी दलका नेता राहुल गान्धीसहित थुप्रै सांसदहरुले माधवीले धितोपत्र बोर्डबाट राजीनामा दिनुपर्ने र उनीमाथि संसदीय छानबिन समितिले छानबिन गर्नुपर्ने माग ठाइरहेका छन् । माधवी र उनका पति धवलले भने विज्ञप्ति जारी गर्दै आफूहरुको जीवन किताब जस्तै खुला रहेको भन्दै हिन्डनबर्गको खुलासामाथि प्रश्न उठाएका छन् ।

यस्तै माधवीले उक्त लगानी सेबीको सदस्य बन्नुभन्दा पहिले नै लगानी गरेको भन्दै हिन्डनबर्गको रिपोर्टमाथि प्रश्न उठाएकी छन् । हिन्डनबर्गको रिपोर्टमा भने माधवी र उनका पति मिलेर मरिससमा अवैध लगानी गरेको खुलासा गरको थियो । साथै उक्त लगानी गौतम अडानीको वित्तीय अनियमिततासँग जोडिएको पनि खुलासा भएको छ ।

अर्कोतर्फ माधवीले दिएको बयानलाई रिट्विट गर्दै हिन्डनबर्गले पनि आफ्नो रिपोर्टमा खुलासा भएका विषयमा सेबी अध्यक्ष माधवीले आफ्नो प्रतिक्रियामा स्विकार गरेको पनि उल्लेख गरेको छ ।

को हुन् माधवी पुरी बुच ?

माधवी पुरी बुचले अहमदाबादबाट एमबीएको अध्ययन गरेकी छन् । उनले दिल्लीको सेन्ट स्टिफन कलेजबाट म्याथमेटिक्समा ग्र्याजुएसन गरेकी थिइन् । सेबीको वेबसाइट अनुसार माधवी २०२२ को २ मार्चदेखि सेबीको अध्यक्ष रहँदै आएकी छन् ।

माधवीले ४ अक्टोबर २०२१ सम्म सेबीको पूर्णकालीन सदस्यको रुपमा काम गरेकी थिइन् । त्यस क्रममा माधवीले बजार विनिमय विभाग, बजार मध्यस्त विनिमय र पर्यवेक्षण विभागको जिम्मेवारी पाएकी थिइन् । पूर्णकालीन सदस्यको रुपमा माधवीले एकीकृत निगरानी विभाग, लगानी प्रबन्ध विभाग जस्ता केही महत्त्वपूर्ण विभाग सम्हालिसकेकी छन् ।

उनले संघाइमा न्यु डेभलपमेन्ट बैंकको सल्लाहकारको रुपमा पनि काम गरेकी थिइन् । साथै प्राइभेट इक्विटी फन्ड ग्रेटर प्यासिफिक क्यापिटलक सिंगापुर कार्यालयको प्रमुखको रुपमा पनि काम गरेकी थिइन् । यस्तै आईसीआईसीआई सेक्युरिटिज लिमिटेडमा प्रबन्ध निर्देशक र मुख्य कार्यकारी अधिकृत तथा आईसीआईसीआई बैंकको बोर्डमा कार्यकारी निर्देशकको पद सम्हालेकी थिइन् ।

उनले विभिन्न कमपनीको बोर्डमा गैरकार्यकारी निर्देशकको रुपमा पनि काम गरकी थिइन् । माधवीले सेबीको अध्यक्ष बनेपछि अहमदाबादको दीक्षान्त समारोहमा आफूले पछिल्लो ३५ वर्ष ज्यादै इन्जोइ गरेको र आफूलाई धेरै किसिमका काम गर्ने मौका मिलेको भन्दै आफूले नयाँ बिजनेस स्थापना गरेको पनि बताएकी थिइन् ।

माधवीले भनेकी थिइन्, ‘म कुनै पनि कोसिस छोड्दिनँ । मेरा साथी अक्सर भन्थे कि मलाई कुनै मुद्दाको सामना गर्नु प्याज छोडाउनु जस्तै हो । यसबाट हरेकको आँखमा आँशु आउँछ । तर छोडाइसकेपछि अन्त्यमा तपाइँ देख्नुहुन्छ कुनै समस्या नै रहँदैन ।’

भारतीय मिडियाका अनुसार १९६६ मा जन्मिएकी माधवीले आफ्नो बाल्यकाल र स्कुले जीवन मुम्बइमा पूरा गरिन् । उनको करिअर १९८९ देखि सुरु भएको हो । जतिबेला उनी आईसीआईसी बैंकमा जोडिएकी थिइन् । २००९ मा आईसीआईसीआई सेक्युरिटिजको प्रबन्ध निर्देशक र सीईओ बन्ने पहिलो महिला समेत बनेकी थिइन् । त्यसो त माधवी सेबी अध्यक्ष बन्ने उनी पहिलो महिला पनि हु्न् ।

आईसीआईसीआई छोडेपछि भने माधवीले आफ्नो कामलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिन् । सांघाइमा न्यु डेभलमपेन्ट बैंकको सल्लाहकारको रुपमा काम गर्दै उनले एक निजी इक्विटी फर्म ग्रेटर प्यासिफिक क्यापिटलको सिंगापुर कार्यालयको जिम्मा सम्हालेकी थिइन् ।

भारत फर्किएपछि उनले आइडिया सेल्युल लिमिटेड र एनआईआईटी लिमिटेडसहित केही कम्पनीको बोर्डमा गैरकार्यकारी निर्देशकको रुपमा काम गरिन् । उनको यही अनुभवले २०१७ मा उनलाई सेबीको पू्णकालीन सदस्य बन्न सहयोग पुगेको बताइन्छ । २०२२ मा भने उनी सेबी अध्यक्ष बन्ने पहिलो महिला बनिन् ।

माधवीका पति धवल बुच भने आईआईटी दिल्लीका पू्र्वछात्र हुन् । धवल निजी इक्विटी प्रमुख ब्ल्याकस्टोन तथा कन्सल्टेन्सी फर्म अल्वारेज एन्ड मार्सलमा वरिष्ठ सल्लाहकार छन् । उनी खेलाडीहरुका लागि कपडा बनाउने ब्रा्ड गिल्डनमा एक गैरकार्यकारी निर्देशक पनि हुन् । उनको कर्पोरेट करिअर ३ दशक पुरानो छ । २०१३ मा धवल र माधवीले सिंगापुरमा एक वित्तीय सेवा कन्सल्टेन्सी अगोरा एडभाइजरी स्थापना गरेका थिए ।

हिन्डनबर्गले भारतीय व्यवसायी गौतम अडानीको वित्तीय अनियमितताको खुलासा गरेको १८ महिनापछि अडानीसँग जोडिने लगानीसहितको माधवीको अवैध लगानीबारे खुलासा गरेको हो । हिन्डनबर्ग रिपोर्ट अनुसार अडानीका निर्देशक विनोद अडानीले इन्डिया इन्फलाइन लिमिटेडको मार्फत् मरिससमा आईपीई प्लस फन्ड स्थापना गरेका थिए । विनोद गौतमका भाइ पनि हुन् ।

हिन्डनबर्ग रिपोर्ट अनुसार माधवी र उनका पतिले अडानीले प्रयोग गरेको सोही फन्डबाट मरिससमा अवैध लगानीको सेयर लिएका हुन् । यस्तै माधवी सेबीको पूर्णालीन सदस्य रहँदा २०१७ को अप्रिलदेखि २०२२ मार्चसम्म उनले अगोरा पार्टनर्स नामको अफसोर सिंगापुरको परामर्शदात फर्ममा १०० प्रतिशत ब्याज थियो । र यो माधवी सेबीको अध्यक्ष बनेको दुई सातापछिको मात्रै विषय थियो । र त्यसपछि माधवीले अध्यक्ष बनेपछि आफ्नो सेयर पतिको नाममा ट्रान्सफर गरेको पनि हिन्डनबर्गले खुलासा गरेको छ ।


क्लिकमान्डु