काँकरभिट्टा-बंगलाबन्ध नाका सञ्चालनमा, रोकिएका मालवाहक ट्रक आउजाउ सुरु



विराटनगर । बंगलादेशमा राजनीतिक संकटपछि बन्द भएको नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारी नाका फूलवारी–बंगलाबन्ध नाका विहीवारदेखि पुन: सञ्चालनमा आएको छ ।

नाका सञ्चालनमा आएसँगै निर्यातकालागि काँकरभिट्टा नाकामा रोकिएका १४ ट्रक बंगलादेशतर्फ निस्किएका र नेपालमा औधोगिक कच्चा पदार्थसहित तयारी सामान लिएर आउने क्रममा बंगलादबन्ध नाकामा रोकिएका ५ ट्रक काँकरभिट्टा आइपुगेको मेची भन्सारका सूचना अधिकारी गणपति कडेलले क्लिकमान्डुलाई जानकारी दिए । उनका अनुसार विहीवारदेखि यो नाका पूर्ववत रुपमा सञ्चालनमा आएको छ ।

उताबाट बिस्कुट र टिस्यु पेपर बोकेका ट्रक आएका हुन् । कँडेलले भने,’यताबाट बंगलादेशका लागि हिँडेका लोड गाडीमा मदिराको कच्चा पदार्थ मोलासिस छ ।’ आन्दोलनका कारण यो त्रिदेशीय नाकाबाट साता अघिदेखि नेपालसहित भारत र भुटानसँगको व्यापार ठप्प थियो ।

सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको बिरोधमा विद्यार्थीले चर्काएको आन्दोलनले उग्ररुप लिएसँगै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना गत सोमबार देश छाडेर भागेकी थिइन् । बंगलादेशमा आन्दोलन सुरु भएसँगै नाकाहरुमा ट्रकहरु रोकिएका थिए ।

फूलवारी नाकाबाट भारत र भुटानले ढुंगा निर्यात गर्छन् भने नेपालबाट जडिबुटी, मोलासि, मुसुरो लगायत दर्जनबढी सामान निर्यात हुँदै आएको छ । यो नाका हुँदै बंगलादेशबाट कच्चा जुट, तयारी कपडा, औषधी, व्याट्रिमा प्रयोग हुने एसिड, सोयाविन लगायतका सामान नेपाल आयात हुँदै आएको छ ।

चालु वर्ष यो नाका हुँदै नेपालबाट २९ करोड २८ लाख मूल्यका सामान निर्यात हुँदा ३ अर्ब ७४ करोडको आयात भएको मेची भन्सारले जनाएको छ । भन्सारकाअनुसार चालु आवको साउन दोस्रो साता सम्ममा नेपालवाट १ करोड ३५ लाख ८९ हजारको सामान बंगलादेश निकासी हुँदा २० करोड ६५ लाख ६२ हजार मूल्यको सामान आयात भएको छ ।


विनोद भण्डारी