भन्सारमा नेपाल-भारतको असमान नीति: सीमा क्षेत्रका बासिन्दा सुन किन्‍न भारतीय बजार जाँदै



नेपाल सरकारले सुनमा भन्सार शुल्क बढाउँदा र भारत सरकारले घटाउँदाको असर सीमावर्ती क्षेत्रको सुन कारोबारमा देखिँदै छ । पहिले नेपालबाट भारततर्फ सुनको चोरी पैठारी हुने गरेको थियो भने नेपाल र भारत सरकारले बजेटमार्फत नयाँ नीति ल्याएपछि हाल भारतबाट नेपालतर्फ सुन तस्करी हुन थालेको छ । जवकि नेपालमा भन्दा भारतमा सुनको मूल्य तोलामै १४ हजार कम पर्छ ।

विराटनगर । नेपालले सुनमा भन्सार महसुल बढाएर भारतले नयाँ बजेटमार्फत् सुनको भन्सार महसुल घटाएपछिको असर सीमा क्षेत्रमा देखिन थालेको छ । भन्सार महसुलका कारण नेपालको तुलनामा भारतमा सुनको मूल्य प्रतितोला कम्तीमा १४ हजार कम भएपछि भारतबाट नेपालतर्फ तस्करी हुँदै सुन भित्रिन थालेको छ ।

भारतमा तुलनात्मक रुपमा सस्तोमा सुन पाइने भएपछि नेपाली उपभोक्ताहरु पनि सुन खरिद गर्न भारतीय बजार जान थालेका छन् । नेपालमा सुन आयत हुँदा २० प्रतिशत भन्सार महसुल लाग्छ भने साउन ८ गतेदेखि भारतमा सुन आयात गर्दा ६ प्रतिशतमात्र भन्सार महसुल लाग्छ । यसैकारण भारतबाट नेपालतर्फ सुनको तस्करी बढ्न थालेको छ ।

गत जेठ १५ गतेभन्दा पहिले दुवै मुलुकमा सुन आयात गर्दा लाग्ने भन्सार महसुल समान १५ प्रतिशत हुँदा नेपालमा अवैध रुपमा भित्रिएको सुन विराटनगरबाट रातारात चोरी निकासी हुँदै भारत पुग्थो । साउनको दोस्रो सातादेखि उल्टै भारतबाट सुनको चोरी पैठारी बढेको छ ।

विराटनगरका एक व्यवसायीले भने, ‘यताबाट उता हुने तस्करी चटक्कै रोकिएर उताबाट तस्करी मार्फत सुन भित्रिन थालेको छ ।’ अझ यताका ग्राहकसमेत सुन किन्न भारततर्फ पुग्न थालेपछि सीमावर्ती बजारका सुन व्यवसायीको पेशा नै संकटमा परेको ती कारोबारीले क्लिकमान्डुलाई बताए ।

दुई देशबीच सुनको मूल्य निकै अन्तरका कारण उपभोक्ताहरु सुन किन्न भारत पुग्न थालेपछि विराटनगरको सुन व्यापार समेत सुस्त बनेको सुन चाँदी व्यवसायी संघ विराटनगरका अध्यक्ष शषिभुषण साह बताउँछन् । सोमबार नेपालमा छापावाल सुनको मूल्य प्रतितोला एकलाख ५० हजार पुगेको छ । त्यही सुन भारतमा प्रतितोला नेपाली रुपैयाँ एक लाख ३६ हजारमै पाइन्छ । तोलामा १४ हजारको मूल्य फरक भएपछि उपभोक्ता सुन किन्न भारत पुग्नु स्वभाविक भएको साहको भनाइ छ ।

साहले भने जेठ १५ अघिसम्म विराटनगरमा मासिक सरदर ४ किलो सुनको कारोबार हुन्थ्यो । नेपालमा भन्सार महसुल बढेर भारतमा घट्दा अहिले त्यसको २० प्रतिशत पनि कारोबार छैन । उनका अनुसार व्यवसायी बैंकबाट नभई तस्करबाट केही सस्तोमा सुन किनेर कारोबार गर्न बाध्य भएका छन् ।

जेठ १५ गतेसम्म नेपाल र भारतमा सुन आयत गर्दा समान १५ प्रतिशत भन्सार महसुल थियो । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते चालु वर्षको बजेट प्रस्तुत गर्दै सुन आयतमा भन्सार महसुल २० प्रतिशत पुर्‍याए ।

माओवादी नेतृत्वको सरकारको नीतिकै कारण चीनबाट सुनको लाइन मिलाउने र भारतमा समेत चिनियाँ सुन तस्करी हुने गरेको थियो । जवकि माओवादी नेतृत्वको सरकारले भन्सार महसुल १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याएको थियो । चीनको सुन नेपालबाट अवैध रुपमा भित्रिन नदिनका लागि नै गत साउन ८ गते भारतीय अर्थमन्त्री निर्मला सीतारमणले निवर्तमान अर्थमन्त्री पुनको नीतिविपरीत १५ प्रतिशतबाट ६ प्रतिशतमा झारिदिएकी थिइन् ।

भारतमा अहिले सुनचाँदीको ग्रे मार्केट बन्द भएको छ । विराटनगरका कतिपय कारोबारीहरु यतिबेला काठमाडौंमा चीनबाट आयात हुने र तराईका बजारमा भारतबाट चोरी पैठारी भएर भित्रिने सुनको कारोबार भइरहेको बताउँछन् ।

भन्सार महसुलकै कारण नेपालमा भन्दा भारतमा सुन प्रतितोला १४ हजार सस्तोमा पाइन्छ । महालक्ष्मी ज्वेलर्सका सञ्चालक तथा सुनचाँदी व्यवसायी संघ विराटनगरका वरिष्ठ सल्लाहकार विकास बेगवानीले भने एक महिना पहिलेसम्म भारतीय ग्राहक सुन किन्न विराटनगर आउँथे तर अहिले विराटनगर र आसपासका ग्राहक ३२ किलोमिटर टाढा भारतको फारविसगञ्ज र ९० किलोमिटर परको पूर्णीयासम्म पुग्न थालेका छन् ।

झापा र आसपासका ग्राहकहरु भने पश्चिम बंगालका विभिन्न बजारमा पुग्न थालेका छन् । यही अवस्थाको असरले हाल विराटनगर र आसपासका सुन पसलमा सुन किन्ने नभएर विक्री गर्नेहरुको भीड लाग्ने गरेको बेगवानी बताउँछन् ।

भारुको मूल्य बढ्यो

दुवै मुलुकमा सुन आयात गर्दा लाग्ने भन्सार महसुल समान हुँदा तस्करीबाट नेपाल भित्रिएको सुन फेरि तस्करीकै माध्यबाट भारत पुग्थो ।

त्यो सुन विक्री गरेर हात पर्ने भारु उताबाट हुण्डी मार्फत नेपालमा भित्रिँदा पूर्वी तराईका सीमावर्ती जिल्लामा प्रसस्त हुँदा भारुको पनि अवमूल्यन भएको थियो । भारतबाट हुण्डी मार्फत भित्रिने भारु विराटनगर लगायत आसपासका बजारमा भारु एक सय रुपैयाँ नेपाली एक सय ५५ देखि ५७ रुपैयाँमा पनि विक्री हुँदैनथ्यो ।

साथै अहिले एक सय रुपैयाँ भारु बराबर नेपाली एक सय ६२ रुपैयाँ तिर्दा पनि पाउन मुस्किल रहेको व्यवसायीहरु बताउँछन् । यसैबीच दुई सातादेखि भारतीय रुपैयाँको मूल्य विराटनगर लगायत आसपासका सीमावर्ती बजारमा बढ्दो छ ।


विनोद भण्डारी