भारतीय बजेट: सुनका गहना नेपालभन्दा २५ प्रतिशतसम्म सस्तो हुने, भारतबाट नेपालमा तस्करी बढ्न सक्ने



काठमाडौं । भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल घटाएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै भारतीय वित्त मन्त्री निर्मला सीतारमणले सुन र चाँदी आयातमा लाग्ने भन्सार महसुल घटाउने घोषणा गरेकी हुन् ।

सीतारमणले सुन र चाँदीको भन्सार महसुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिदिएकी हुन् ।

नेपाल सरकारले गत जेठ १५ गते बजेट सार्वजनिक गर्दै सुन आयात गर्दा लाग्ने १५ प्रतिशत भन्सार महसुललाई बढाएर २० प्रतिशत बनाएको थियो ।

नेपालमा सुन आयात गर्दा हाल २० प्रतिशत र चाँदी आयात गर्दा १५ प्रतिशत भन्सार महसुल लाग्ने गर्छ ।

नेपाल सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल बढाउँदै सुनका गहनाको मूल्य बढाउने नीति लिँदा भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल घटाउँदै सुन तथा चाँदीका गहनाको मूल्य घटाउने नीति लिएको छ ।

सुन र चाँदीको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरु भारत सरकारले सुन र चाँदीमा लिएको नीतिले घरायसी प्रयोजनका लागि सीमावर्ती भारतीय शहरबाट नेपालीले सुन खरिद गर्ने क्रम बढ्न सक्ने बताउँछन् ।

भारतमा सुनका गहना नेपालभन्दा प्रतिग्राम २५ प्रतिशतसम्म सस्तो हुन सक्ने भएकाले सीमावर्ती बजारबाट सुन खरिद गर्ने क्रम बढ्न सक्ने व्यवसायीको आकलन छ ।

भारत सरकारले गत माघ ८ गते सुन र चाँदीको आयातमा लाग्ने भन्सार महसुल बढाएको थियो ।

उच्च दरमा सुन आयात बढ्दा व्यापार घाटा बढेको भन्दै भारत सरकारले सुन र चाँदी आयातमा लाग्ने १० प्रतिशत भन्सार महसुललाई बढाएर १५ प्रतिशत बनाएको थियो ।

५ प्रतिशतले भन्सार महसुल बढाएको ६ महिनापछि भारत सरकारले सुन र चाँदीको भन्सार ९ प्रतिशतले घटाएको हो ।

‘भारतमा सुन महँगो हुँदा भारतीयले घरायसी प्रयोजनका लागी समेत दुबईबाट सुन खरिद गर्न थाले,’ एक व्यवसायीले भने, ‘जसले सुनका गहना बनाउने रोजगारीमा समेत नकारात्मक असर पर्न थाल्यो । जसले गर्दा भारत सरकारले आन्तरिक रोजगारी बढाउने सुनमा भन्सार घटाउने नीति लिएको हुन सक्छ ।’

भारतले अर्थतन्त्रका बिभिन्न तथ्यांक विश्लेषण गर्दै सुन र चाँदीको भन्सार महसुल सम्बन्धी नीति परिवर्तन गरे पनि नेपालमा भने समयअनुसार नीति परिवर्तन नहुँदा समस्या भएको केही व्यवसायीहरु दाबी गर्छन् ।

‘अहिले नै नेपालमा भारतबाट चाँदी तस्करी भइरहेको थियो । सिमावर्ती क्षेत्रमा प्रहरीले चाँदीका गहना समातेको समाचार निरन्तर आइरहेका थिए,’ एक व्यवसायीले भने, ‘यसअघी चाँदीमा प्रति तोला १५० रुपैयाँसम्म मार्जिन भएकोमा आगामी दिनमा मार्जिन दोब्बर बढी हुने छ । यसले तस्करी बढ्ने निश्चित छ । ’

अवैध ब्यापार बढ्छ

भारतमा सुन र चाँदी सस्तो हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्य बताउँछन् ।

‘हाम्रोमा सुन आयात गर्दा २० प्रतिशत भन्सार महसुल लाग्छ । चाँदीको भन्सार महसुल १५ प्रतिशत छ । जुन निक्कै धेरै हो,’ शाक्यले भने, ‘भारतमा भन्सार महसुल घटेकाले भारतबाट सुन चाँदी र त्यसबाट निर्माण भएका गरगहना अनौपचारिक माध्यमबाट नेपालमा भित्रिने जोखिम बढ्छ ।’

सुन सम्बन्धी कारोबार गर्दै आएका एक अधिकारी नेपालभन्दा भारतमा सुनको भन्सार महसुल १४ प्रतिशत र चाँदीको भन्सार ९ प्रतिशत सस्तो भएकाले अवैध ब्यापार ह्वात्तै बढ्ने दाबी गर्छन् ।

भारतमा नेपालभन्दा सुन र चाँदीको गहना खरिद गर्दा गुड्स तथा सर्भिस ट्याक्स (जीएसटी) समेत १० प्रतिशत कम लाग्ने भएकाले उपभोक्तालाई भारतबाट सुनर र चाँदीको गहना खरिद गर्दा नेपाल भन्दा २५ प्रतिशत सम्म सस्तो पर्न सक्ने ती व्यवसायीको आंकलन छ ।

भारतमा सुन वा चाँदीका गहना खरिद गर्दा ३ प्रतिशत जीएसटी लाग्ने गर्छ । नेपालमा भने सुन वा चाँदीका गहना खरिद गर्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ ।

‘नेपालको विमानस्थलमा विदेशबाट सुनको सिक्री वा अन्य गहना ल्याउँदा धरपकड गर्ने गरिन्छ,’ ती व्यवसायीले भने, ‘भारतमा सुनका गहना नेपालभन्दा २५ प्रतिशत सम्म सस्तो हुने भएकाले नेपालीले सजिलै भारतबाट सुन किन्न सक्छन् । ५-१० प्रतिशत मार्जिन हुँदा पो किन भारत गएर खरिद गर्ने भन्ने हुन्छ । ५ तोला सुन खरिद गर्दा नै १ लाख ५० हजार सम्म सस्तो पर्ने भएपछि भारतमा सुन किन्न जानेहरु बढ्न सक्छन् ।’

नेपालमा सुनको कारोबार गरिरहेकाहरुले भारतीय सीमावर्ती बजार समेत पसल खोल्न सक्ने ती व्यवसायीको प्रक्षेपण छ ।

‘नेपाल चल्ने जस्तो डिजाइनका गहना भारतीय सीमावर्ती बजारमा पाइयो भने सुनको अवैध कारोबार ह्वात्तै बढ्न सक्छ,’ ती व्यवसायीले भने ।

नेपालमा हालको कानुनअनुसार पुरुषले विदेशबाट २५ ग्राम र महिलाले ५० ग्रामसम्म सुन ल्याउन पाउँछन् ।
जस अनुसार एक पटकमा दुई वटा भारितय बजारमा गए भने बिनारोक टोक सहजै १०० ग्राम सुन ल्याउन सक्छन् ।

‘भारतमा १०० ग्राम सुन खरिद गर्दा नेपाल भन्दा २ लाख ५० भन्दा बढी सस्तो हुन्छ । नेपाल भन्दा भारतमा लाग्ने ज्याला र जर्दी समेत कम हुन्छ,’ एक व्यवसायीले भने, ‘ नेपाल सरकारले सुनमा भन्सार महसुल घटाएन भने यो वर्ष सुन आयात ह्वात्तै घट्छ । अवैध कारोबार बढ्छ ।’

भन्सार विभागका अनुसार नेपालमा युएई, बहराइन, सिंगापुर, ब्रुनाई, साउदी अरब, हङकङ, कुवेत, कतार, ओमान, अमेरिका, बेलायत, टर्की, केन्या, भारत, डेनमार्क, युक्रेन, इटली, चीनलगायत २० भन्दा बढी देशबाट सुन आयात हुन्छ । यस्तै भारतमा समेत यी देशहरु बाटै सुन आयात हुने व्यवसायीहरु बताउँछन् ।


क्लिकमान्डु