मोरङमा स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु



काठमाडौं । मोरङको रंगेलीमा स्कुल बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

आइतबार विद्यार्थी लिनका लागि विराटनगरबाट जाँदै गरेको अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागञ्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

को १ क १७०० नम्बरको स्कुल बसले रंगेली नगरपालिका–२ चेका पुलमा आइतबार १० बजेतिर ठाकुर चढेको साइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका ठाकुरको उपचारको क्रममा मृत्यु् भएको बताइएको छ । रंगेली अस्पतालमा चिकित्सकले ठाकुरलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि बसका चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । साथै स्कुल बसलाई पनि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्लिकमान्डु