कपिलवस्तुको कृष्णनगरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्‍न



काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा स्व. वक्ता वारीदेवी गोयल कल्याणकारी कोषले यही साउन १९ गते शनिबार आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ५० स्थानीयहरुले स्वास्थ्य जाँच गराएका छन् ।

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजसँगको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो ।

कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । बिहान ९:३० बजेदेखि सुरु भएको उक्त स्वास्थ्य शिविरमा दिनभर चिकित्सकहरुले महिला रोग, हाडजोर्नी तथा नसा रोग, बाल रोग, नाक-कान-घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड,दाँत तथा गिजा रोग, इसीजी, छाला तथा यौन रोग लगाएतको नि:शु्ल्क परीक्षण गरेका थिए ।

शिविरमा रोगहरुको निःशुल्क जाँच, परीक्षण तथा निःशुल्क औषधि वितरण पनि गरिएको कोषका अध्यक्ष विश्वनाथ गोयलले जानकारी दिए ।

उक्त शिविरमा उपस्थित भई नाम लेखाएका तथा विभिन्न रोगहरुको जाँच गराएका विरामीहरुले भदौ १७ गतेसम्म युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा विभिन्न रोगको उपचारमा विशेष छुट तथा सहुलियत दरमा उपचार सेवा समेत पाउने कोषका अध्यक्ष गोयलले बताए ।

यसअघि निःशुल्क स्वास्थ्य शिविर, राहात वितरण, शैक्षिक सामाग्री वितरण, वृक्षारोपण लगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको स्व. वक्ता वरीदेवी गोयल कल्याणकारी कोष गैरनाफामुलक सामाजिक संस्था हो ।


क्लिकमान्डु