भारतीय मजदुरले जब १ करोड २८ लाखको हिरा भेटाए…



चर्को ऋणले थिचिएका एक भारतीय मजदुरले खानी उत्खनन गर्ने क्रममा अचानक एउटा हिराको डल्लो भेटाए । त्यो हिरा उनले सरकारलाई बुझाए । त्यसबाट ८० लाख भारु पाएपछि उनको जीवन रातारात कायापलट भयो । हिरा भेटेपछि उनले भने- ‘पहिले त ऋण तिर्छु ।’

एजेन्सी । भारतको मध्यप्रदेशमा हालै एक भारतीय मजदुरले खानीमा एउटा वहुमूल्य हिरा भेटे । १९.२२ क्यारेटको हिरा सरकारी लिलामीमा करिब ९५ हजार ५ सय ७० अमेरिकी डलर अर्थात् झण्डै ८० लाख भारु बराबरको मूल्य हुने अपेक्षा गरिएको छ । जुन रकम नेपालीमा तुलना गर्दा १ करोड २८ लाख नेपाली रुपैयाँभन्दा बढी हुन्छ ।

पन्ना सहरमा स्थानीय मजदुर राजु गौणले हिरा उत्खननका लागि १० वर्षदेखि आफ्नो जमिन भाडामा लिँदै आएका थिए । जहाँ पन्नालाई हिराको भण्डारको लागि प्रसिद्ध मानिन्छ । साथै आम मानिसहरु अक्सर वहुमूल्य धातुको खोजी गर्न भाडामा जमिन लिएर काम गरिरहेका हुन्छन् ।

यहाँ थुप्रै परिवारहरु र सहकारी समूहहरुले यस्ता खानी हिरा खोजीका लागि भाडामा दिने गर्छन् । जहाँ संघीय सरकारको राष्ट्रिय खनिज विकास निगमले हिरा उत्खननका लागि एउटा परियोजना नै सञ्चालन गरेको छ । र कसैले हिरा पाएपछि उक्त हिरालाई मजदुरहरुले सरकारलाई बुझाउँछन र सरकारबाट उनीहरु त्यसको बजार मूल्य पाउँछन् ।

यस्ता खानीहरु विशेष र सीमित समयका लागि २ सयदेखि २ सय ५० रुपैयाँको लागि भाडामा पाइन्छ । प्रदेश सरकारका अधिकारीहरुका अनुसार २०१८ मा बुन्डेलखन्डका एक जना मजदुरले १ करोड ५० लाख भारु बराबरको हिरा पन्नामा भेटेका थिए । तर यसरी यति ठूलो मात्रामा हिरा पाउनुलाई यहाँ दुर्लभ नै मानिन्छ ।

प्राय मानिसहरुले भने ससाना हिराका टुक्रा मात्रै भेट्ने गरेको सरकारकी अधिकारीहरु बताउँछन् । यस्तैमा गौणले भेटेको हिरा आकारको हिसावले निकै ठूलो हो । गौणका अनुसार उनले पन्ना नजिकै कृष्ण कल्याणपुर पट्टी गाउँमा करिब दुई महिनाअघि मात्रै यो जमिन खानी चलाउन भाडामा लिएका थिए ।

उनको परिवारले यसैगरी हरेक वर्ष प्राय मनसुनको समयमा खेतीपातीको काम सकेपछि खानी चलाउन जमिन भाडामा लिने गर्छन् । यसपटक खानी खन्दा वहुमूल्य हिरा भेटिएपछि भने गौण परिवारले रातारात जीवनस्तर नै बदलिने आशा राखेको छ । गरिबीबाट गुज्रिरहेको गौणको परिवार यही हिराले केही आम्दानी हुने आशामा छ ।

‘हामी धेरै गरिब छौं । र आम्दानीको अरु कुनै स्रोत छैन । आशा छ यसले केही आम्दानी हुनेछ,’ गौण भन्छन् । त्यसो त उनले हिराले गर्दा अरु मानिसहरुको पनि जीवन बदलिएका काहानी सुनेका थिए । र आफ्नो पनि कुनै दिन भाग्य खुल्ने आशामा खानीमा काम गरिरहेको सुनाउँछन् उनी ।

बुधबार बिहान उनको परिवार दैनिक जस्तै खानीमा काम गर्न गयो । जहाँ हिरा खोजीका लागि काम गरिरहेका थिए । उनी भन्छन्, ‘यो एउटा कठिन काम हो । हामी एउटा खाडल खन्छौं । माटो र ढुंगा निकाल्छौं । त्यसलाई जालीमा धोएर छान्छौं र हिरा खोज्छौं । ससाना टुक्राहरुलाई सावधानीपूर्वक छान्छौं ।”

त्यही अपराह्न अचानक गौणको हातमा ठूलो हिराको डल्लो फेला पर्‍यो । जसले भाग्य बदलिदिएको छ । हिरा भेटेपछि खुसी हुँदै गौण भन्छन्,”म ढुंगा छानिरहेको थिएँ । र त्यहाँ मैले यस्तो देखें कि त्यो काँचको टुक्रा जस्तो केही थियो । मैले त्यो अलि धेरै चम्किलो देखेँ र त्यसपछि मलाई थाहा भयो कि मैले त हिरा पाएँ ।”

गौणले त्यसपछि सरकारको खनिज कार्यालयमा गएर त्यसको मूल्य सोधे । जहाँ यसरी भेटिएका हिराको तौल लिइन्छ र मूल्यांकन गरिन्छ । खनिज कार्यालयका अधिकारीहरुले भने उनको कर कट्टी गरेर हिराको मूल्य गौणलाई दिए ।

यो अप्रत्यासित पैसाले गौण अब राम्रो घर बनाउने सोच बनाएका छन् । उनी आफ्नो पहिलेदेखि लागेको लाखौंको ऋण यही रकमबाट तिर्ने पनि तयारीमा छन् । यस्तै सन्तानको पढाइका लागि पनि पैसा राख्ने उनको तयारी छ । सबैभन्दा पहिले चाहिँ गौण ५ लाख तिर्ने तयारीमा छन् उनी ।

-बीबीसी


क्लिकमान्डु