बढ्दो चोरी पैठारी र घट्दो आयातले विराटनगर भन्सारको राजश्व असुली ६० प्रतिशतमात्रै



विराटनगर । बढ्दो चोरी पैठारी तथा घट्दो आयातले विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ४० प्रतिशत राजश्व असुली गर्न सकेन । भन्सार कार्यालयले ५० अर्ब ८१ करोड राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ३० अर्ब ३५ करोड रुपैयाँमात्र असुली भएको प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले जानकारी दिए ।

विराटनगर भन्सार कार्यालयले राजश्व असुलीको लक्ष्य विगतका वर्षमा पनि भेट्न सकेको थिएन । आर्थिक वर्ष २०७९/८० मा राजश्व असुलीको लक्ष्य ६० अर्ब हुँदा ५५ प्रतिशतमात्र असुली भएको थियो भने त्यसअघीको आर्थिक वर्ष पनि ४९ अर्ब लक्ष्यमा ४० अर्बमात्र राजश्व उठेको थियो ।

यसका साथै आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले कुनैपनि महिना लक्ष्य अनुसारको राजश्व असुली गर्न सकेन । आर्थिक वर्षको अन्तिम महिना असारमा पनि ४ अर्ब २५ करोड असुली लक्ष्य भएकाेमा २ अर्ब ५६ करोड मात्र असुली भएको छ ।

प्रमुख भन्सार अधिकृत ढकालका अनुसार चोरी पैठारी बढ्दा र राजश्व बढी लाग्ने वस्तुको आयातसँगै वैदेशिक व्यापार घट्दा राजश्व असुली लक्ष्यको आधामात्र हुँदै आएको छ ।

विराटनगर भन्सार कार्यालयको राजश्व असुलीको लक्ष्य औद्योगिक कच्चा पदार्थको आयातमा निर्भर छ । राजश्व बढी तिर्ने तयारी कपडा, जुत्ता चप्पल, मोटरसाईकल, पेट्रोलियम पदार्थ, एमएस विलेट र कच्चा तेल लगायतका सामानको आयात नै उल्लेख्यरुपमा घट्दो रहेको पनि ढकालको भनाइ छ ।

उनका अनुसार हरेक महिना लक्ष्यको ५५ देखि ६० प्रतिशतमात्र भन्सार महशुल असुली हुँदै आएको छ ।

विराटनगर नाकावाट आयात घट्दा र चोरी पैठारी बढ्दा राजश्व असुली प्रभावित वनेको भन्दै ढकालले अघिल्लो आर्थिक वर्षमा जोगवनी नाकावाट १ खर्ब ६० अर्बको आयात भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब ४० अर्ब रुपैयाँको मात्र आयात भएको जानकारी दिए ।

पोलिथिन दाना, एलपी ग्याँस, एचआरसीट, शुद्ध फलाम र कच्चा तेललगायतका आयातीत वस्तुले भन्सार राजश्व असुली थेग्दै आएको पनि उनको भनाइ छ ।

औधोगिक क्षेत्रमा अघोषित लोडसेडिङ र अर्थतन्त्रमा देखिएको संकुचनका कारण सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योग क्षमता अनुसार चल्न नसक्दा पनि कच्चा पदार्थको आयात ह्वात्तै घटेको छ । बजारमा चलपल नहुँदा उत्पादित र आयातीत वस्तुको खरिद विक्रीमा पनि मन्दी छ ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीका अनुसार हालकाे प्रतिकुल अवस्थामा लक्ष्य अनुसारको भन्सार राजश्व संकलन हुने सवाल नै हुँदैन ।

‘भन्सार नाका हुँदै आयात गरेर राजश्व तिर्दै आएका व्यापारिक वस्तुमा पनि सरकारले कर माथि कर थपेर तस्करीलाई प्रोत्साहन दिएका कारण भन्सार राजश्व असुली संकटमा परेको छ,’ राठीले क्लिकमान्डुसँग भने ।

यसकासाथै, १० प्रतिशत भन्सार महसुल लाग्दै आएको सुती कपडा (साडी, धोती, गम्छा, कात्रो) लगायतका सामानमा सरकारले यस वर्षदेखि १३ प्रतिशत भ्याट थप गरेपछि भन्सार नाकाबाट आयात बन्द भएर चोरी पैठारी सुरु भएका कारण भन्सार राजश्व प्रभावित भएको राठीको दावी छ ।

भन्सार विभागको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०८०/८१को १० महिनामा १ अर्ब ५९ करोड १८ लाख मूल्यको सुती सारी र १० करोड ५७ लाख मूल्यको सुतीको धोती र लुंगी १० प्रतिशत भन्सार महसुल तिरेर आयात भएको थियो ।

विराटनगर भन्सारका अनुसार त्यसअघिकाे आर्थिक वर्ष यस नाकावाट ५६ करोड ४४ लाख ७८ हजार मूल्यका सुती कपडा आयात हुँदा १० करोड १७ लाख भन्सार महसुल असुली भएको थियो । तर गत आवको १० महिनामा ४० करोड ३६ लाख मूल्यका सुती सारी, धोती लगायतका सुती कपडा आयात हुँदा ४ करोड ९८ लाख राजश्व असुली भएको छ ।

भन्सार स्रोतका अनुसार जेठ १५ मा सार्वजनिक भएको चालु आवको बजेटमा सुती कपडामा १० प्रतिशत भन्सार महशुलसहित १३ प्रतिशत भ्याट कायम गरेपछि सुती कपडाको आयात प्राय ठप्प छ ।


विनोद भण्डारी