बालेनलाई प्रश्नः नगरबासीले तपाईं बस्ने दरबार जलाए भने के गर्नुहुन्छ ?



काठमाडौं । काठमाडौं महानगरपालिकाकी नगर कार्यपालिका सदस्य अनिता कार्की (डोली) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह `बालेन´लाई तपाईं बस्ने दरबार नगरबासीले जलाए भने के गर्नु हुन्छ ? भन्दै प्रश्न गरेकी छिन् । सोमबार बसेको नगर सभाको १५ अधिवेशनको तेस्रो बैठकमा उनले यस्तो प्रश्न गरेकी हुन् ।

मेयर साहले केही समय अघि सिंहदरबारमा आगो लगाउँछु भन्दै सामाजिक सन्जालमा स्टाटस लेखेका थिए । त्यही सन्दर्भमा उनले यस्तो प्रश्न गरेकी हुन् । ‘तपाईं जुन कुर्सीमा बस्नु भएको छ । त्यो कुर्सीको अधिकार नेपालको संविधान २०७२ ले दिएको र स्थानीय सत्ता सञ्चालन २०७९ ले दिएको अधिकार अन्तरगतको हो ।

जुन अधिकार सिंहदरबारले प्रदत्त गरेको अधिकार हो,’ उनले भनिन्, ‘सिंहदरबारले प्रदत्त गरेको अधिकारको उपयोग गरिहेको व्यक्तिले अहिले सिंहदरबार जलाउँछु भन्दै गर्दा तपाईंलाई महानगरपालिकाले दिएको जुन दरबार छ । त्यो दरबार महानगरवासीले जलाए भने त्यसको अवस्था के–हुन्छ ?’

उनले थपिन, ‘जुन दरबारमा बसेर तपाईँले रजगज गरिरहनु भएको छ । त्यो दरबार काठमाडौं महानगरपालिकाले तिरेको राजश्वबाट बनेको दरबार हो । जुन दरबारलाई भोलि महानगरपालिकाले जलायो भने त्यसको अवस्था के–हुन्छ ?’


क्लिकमान्डु