खर्च धान्न मुस्किल परिरहँदा भाडाको इन्जिनले निगमको दैनिक उडान, प्रतिघण्टा पौने २ करोड खर्च



काठमाडौं । खर्च धान्न मुस्किल परिरहेको नेपाल वायुसेवा निगमको दैनिक उडान भने भाडाकै इन्जिनमा भइरहेको छ । निगमको न्यारोबडी उडानमा ४ वटा आफ्नै इन्जिन हुँदासमेत एउटा जहाज नियमित रुपमा भाडाकै इन्जिनबाट मात्रै उडिरहेको छ ।

नेपाल वायुसेवा निगमले क्लिकमान्डुलाई उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो २० महिनादेखि भाडाको इन्जिनमा एउटा जहाज उडिरहेको हो । निगमकाअनुसार ९एन एकेडब्लु कलसाइनको सगरमाथा नामक न्यारोबडी जहाज लामो समय भाडाकै इन्जिनमा उडेको हो । यो जहाज सन् २०२३ को अक्टोबरसम्म लगातार २० महिनादेखि भाडाको इन्जिनमा उडेको छ । यो जहाजमा निगमले आफ्नै इन्जिन राखेर उडाउन थालेपछि फेरि अर्को न्यारोबडीको जहाज भाडाकै इन्जिनमा उडिरहेको छ । निगमसँग सगरमाथा र एनएन एकेएक्स कलसाइनको लुम्बिनी नामक न्यारोबडी छ ।

त्यहीँ न्यारोवडी जहाज हो जुन ५ महिनासम्म इन्जिन परिवर्तन गर्न इजरालय बसेर आएको थियो । भाडाको इन्जिन बिग्रिएर मर्मतमा छोडेको आफ्नै इन्जिन राख्न गएको निगमको उक्त लुम्बिनी नामक न्यारोबडी जहाजले ५ महिनासम्म पर्खिदा पनि आफ्नो इन्जिन नबनेपछि फेर भाडाकै इन्जिन राखेर फर्किएको छ । निगमका अनुसार हाल लुम्बिनी जहाज भाडाको इन्जिनबाट उडिरहेको छ ।

अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेको निगमको दुवै न्यारोबडी जहाज एकैपटक उडेको अवस्थामा एउटामा भाडाको इन्जिन प्रयोग अनिवार्य जस्तै भएको छ । निगमले भाडाको इन्जिन लिँदा प्रतिघन्टा उडान शुल्क तथा एकचक्र पूरा उडान (साइकल फि)र प्रतिदिनको भाडा तिर्दै आएको छ ।

जहाजको इन्जिन भाडावापत निगमले प्रतिघन्टा औषतमा ६० हजार डलरदेखि अधिकतम १ लाख ३८ हजार डलरसम्म (१ करोड ८३ लाख ५४ हजार नेपाली रुपैयाँ) तिर्दै आएको छ । निगमले क्लिमान्डुलाई उपलब्ध गराएको विवरण अनुसार सगरमाथा नामक न्यारोबडीमा सन् २०२२ को मार्चदेखि लगातर २० महिनासम्म भाडाकै इन्जिन प्रयोग भएको छ ।

निगमलाई खर्च धान्न मुस्किल परिरहेका बेला भाडाको इन्जिनले झन खर्च बढाइदिएको छ । वायुसेवा निगमका प्रवक्ता देवेन्द्र पुनकाअनुसार सगरमाथाको एउटा इन्जिनमा समस्या आउँदा त्यसलाई निकालेर भाडाको इन्जिन राखिएको थियो । त्यो मर्मत भएर नआउँदै फेरि अर्को लुम्बिनी जहाजको इन्जिनमा पनि खराबी आएको कारण एकैसमय दुईटै जहाजमा भाडाको इन्जिन प्रयोग गर्नुपरेको थियो ।

भाडाको फिर्ता गरेर ४ वटै इन्जिन आफ्नै राखेर उडान गरेको केही समयमा नै बिग्रिएकाले विगत दुई वर्षदेखि अधिकांश समय भाडाकै इन्जिनमा निगमको जहाज उडिरहेको छ । अहिले भने लुम्बिनी नामक जहाजमा भाडाको इन्जिन प्रयोग भइरहेको छ।

निगमलले इजरायल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड इजरायल (आईएआई)सँग इन्जिन मर्मत र भाडामा लिने गरी सम्झौता गरेको छ । यो कम्पनीले निगमलाई आवश्यक इन्जिन भाडामा उपलब्ध गराउँछ भने बिग्रिएको अवस्थामा पनि यसैले बनाइदिने गर्छ ।

५ महिनासम्म उडान ठप्प भएको जहाज भाडाकै इन्जिनमा

निगमको एउटा न्यारोबडीमा राखिएको भाडाको इन्जिन बिग्रिएपछि थन्किएको लुम्बिनी नामक जहाज गत मंसिरदेखि ५ महिना इजरायल बसेर वैशाखमा मात्रै फर्किको थियो ।

उक्त जहाज निगमले आफ्नो बनाउन दिएको इन्जिन राखेर फर्कने गरी गएको भए पनि इन्जिन निर्माता कम्पनीले धोका दिएका कारण भाडाकै इन्जिनलाई बनाएर ल्याउनु परेको निगमको भनाइ छ ।

निगमले युवराज अधिकारीको नेतृत्व पाएपछि इन्जिन मर्मतको कम्पनी परिवर्तन गरेको थियो । सिंगापुरको एसटी एरोस्पेसमा हुँदै आएको इन्जिनको मर्मत पछिल्लो एक वर्षदेखि इजरायल एरोस्पेस इन्ड्रष्ट्रिज (आइएआई) मा गराउन थालेको निगमलाई इन्जिन निर्माता कम्पनीले पहिलो वर्ष नै धोका दिएको निगमका अधिकारी बताउँछन् ।

निगमले एउटै कम्पनीबाट जहाजको इन्जिन भाडामा लिने अनि उसैलाई मर्मत गर्न दिने जिम्मा दिएको थियो । निगमसँग अरु विकल्प नभएकोले यही कम्पनीले ढिलो छिटो जे गरे पनि पर्खनुपर्ने बाध्यताका कारण पनि इन्जिन फेर्न गएको जहाज झन्डै आधा वर्षमा फर्केकोले निगमलाई यो वर्ष जहाज उडाएर कामाउने नाफाभन्दा बढी थन्काएर राख्नुपर्दा धेरै घाटा भएको छ ।

निगम नेतृत्वले समयमै निर्णय गर्न नसकेको, विकल्प खोज्न नसकेको, जसको इन्जिन भाडामा लिएको उसैबाट मर्मतमा धोका पाउँदा पनि व्यवस्थापन चुपचाप बसेको कारण निगमलाई आम्दानीले खर्च धान्न मुस्किल परेको बेला जहाज थन्किदा करिब ३ अर्ब रुपैयाँ घाटा नै भएको अनुमान निगमकै अधिकारीले गरिरहेका छन् । यही कारण निगमको यो वर्षको ब्यालेन्ससिटमै असर पर्ने देखिएको छ ।

इन्जिन मर्मत समयमै गरिदिने कम्पनी आईएआइविरुद्ध क्षतिपूर्ति माग्दै निगम

वायुसेवा निगम स्रोतका अनुसार पछिल्लो समय निगमले इन्जिन मर्मतमा पाएको धोकाको कारण लागेको घाटा र निगमले व्यहोरेको क्षतिका विषयमा क्षतिपूर्ति माग्ने भएको छ । इजरायली कम्पनी आईएआइलाई कालोसूचीमा राख्ने र यससँगको सम्झौता तोडेर नयाँमा जानेसम्मको विकल्पका विषयमा निगमले आवश्यक तयारी गरिहेको दाबी निगम स्रोतको छ ।

निगम उच्च अधिकारी भन्छन्, ‘मर्मतमा रहेको जहाज आएपछि ५ महिनासम्म जहाज थन्किनुको विषयमा एक छानबिन समिति बनेको छ । उक्त समितिले काम गरिरहेको छ भने आन्तरिक रुपमा पनि छानबिन भइरहेको छ ।’

निगमले गत वैशाख अन्तिम साता जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको बारे छानबिन गर्न एक समिति बनाएको थियो । निगमको ९ एन एकेएक्स कलसाइनको न्यरोबडी जहाज इन्जिन मर्मत गरेर फर्कन ढिलो भएको सम्बन्धमा छानबिन उपसमिति गठन भएको थियो जसले अध्ययन पछि प्रतिवेदन तयार गरिरहेको छ ।

निगमको सञ्चालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन उपसमितिले आवश्यक अध्ययन गरेर प्रतिवदेन दिँदै छ । यो प्रतिवदेनपछि निगमले इन्जिन मर्मत कम्पनीसँग क्षतिपूर्ति दाबी गर्ने भएको छ ।

निगमले आईएआईसँग जहाज मर्मतमा भएको ढिलाइले निगमलाई परेको घाटाको विषयमा क्षतिपूर्ति माग्न उक्त समिति बनाएको थियो । निगमका अनुसार भी२५०० एस/एन भी१७६७२ मर्मतमा भएको ढिलाईमा क्षतिपूर्ति मागिने भएको छ । निगमकै अर्को इन्जिन भी२५०० एस/एन भी १७६७९ ब्रेकडाउन पश्चात सम्झौताको शर्तअनुसार समयमा दिन नसकेको विषयमा विस्तृत विश्लेषण गरी क्षतिपूर्ति माग्ने तयारीमा निगम छ ।


राजु बास्कोटा