भारतमा चरम गर्मीले डिजेलको माग घट्यो, जुन महिनामा ४ प्रतिशत बिक्री गिरावट



एजेन्सी । भारतमा अत्यधिक गर्मीका कारण डिजेलको माग घटेको विभिन्न तथ्यांकले देखाएको छ । देशका विभिन्न भागमा चरम गर्मीका कारण मानिसहरुको यात्रा कम भइरहँदा जुन महिनामा डिजेलको माग अनपेक्षित रुपमा घटेको सरकारी निकायका तथ्यांकले देखाएका छन् ।

लोकसभा निर्वाचनको समयमा परम्परागत रुपमा बढ्ने गरेको इन्धन बिक्रीको प्रवृत्ति यसपटक नदेखिएको बताइएको छ । र यो माग घट्ने क्रम गर्मी बढेसँगै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इन्धन बजारको ९० प्रतिशत नियन्त्रण गर्ने सरकारी स्वामित्वमा रहेका तीन कम्पनीको पेट्रोल बिक्री यस वर्षको जुन १५ सम्मको अवधिमा १४ करोड २० लाख टन रहेको छ । जुन गत वर्षको सोही अवधिमा खपत भएको १४ करोड १ लाख टन इन्धन बराबर हो । यसरी हेर्दा मासिक रुपमा ४.६ प्रतिशतले उपभोग घटेको छ ।

यस्तै डिजेलको बिक्री ३.९ प्रतिशतले घटेको देखिएको छ । एक वर्षअघिको तुलनामा १ देखि १५ जुनसम्मको अवधिमा डिजेलको बिक्री ३.९ प्रतिशत घटेर ३.९५ मिलियन टन रहेको छ । अप्रिल महिनामा देशभरको इन्धन खपत २.३ प्रतिशत घटेको छ भने मार्चमा २.७ खपत घटेको थियो । मे महिनामा यो दर १.१ प्रतिशतले घटेको छ ।

यससँगै मध्य मार्चमा पेट्रोल र डिजेलको मूल्य प्रति लिटर २ रुपैयाँ घटेको थियो । लामो समयपछि मूल्य घटाउँदा पनि इन्धनको बिक्री तथा खपत भने घटेको सरकारी आंकडाले देखाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

१ देखि १५ मेको अवधिमा १.४७ मिलियन टन खपतको तुलनामा हरेक महिना पेट्रोल बिक्री ३.६ प्रतिशतले गिरावट आएको छ । मे महिनाको पहिलो आधा १५ दिनमा पनि डिजेलको माग स्थिर रह्यो ।

डिजेललाई भारतमा अत्यधिक खपत हुने इन्धनको रुपमा लिइन्छ । जसमा सबै इन्धन खपतको ४० प्रतिशत डिजेलले ओगटेको छ । खेती तथा ट्याक्टर लगायत कृषिमा समेत यसको बढी मात्रामा प्रयोग हुने गरेको छ । यसअघिका वर्षहरुमा यही अवधिको माग र खपतको आंकडा हेर्दा भारतमा देशभर यसपटक डिजेलको मूल्य घट्दा पनि बिक्री तथा खपत घट्नुको कारण अत्यधिक गर्मी भएको रुपमा बुझिएको छ ।

जवकि चरम गर्मीका बीच आम मानिसहरु खुला ठाउँमा निस्किन नसक्ने अवस्था भएपछि लामो समयसम्म थुप्रै कार्यालय बन्द गरियो । दिल्लीका कतिपय स्थानमा गर्मी बढेर ५४ डिग्री सेल्सियस तापक्रमसम्म पुगेको थियो ।


क्लिकमान्डु