एयर इन्डियाको खानामा फलामको ब्लेड भेटिएपछि…



एजेन्सी । एयर इन्डियाको जहाजमा उडानको क्रममा यात्रुलाई दिएको खानामा फलामको ब्लेड भेटिएको विषयलाई लिएर कम्पनीले अब यस्तो लापर्वाही सुधार्ने बताएको छ । एयर इन्डियाका चिफ कस्टमर एक्सपेरियन्स अफिसर राजेश डोग्राले उक्त घटना स्विकार गर्दै अब यस्तो अवस्था आउन नदिने बताएका हुन् ।

एयर इन्डियाले यस घटनाबारे जाँचबुझ गरेपछि आफ्नो क्याटरिङ पार्टनरको सुविधामा तरकारी प्रशोधन मेसिनको स्रोत भेटिएको उल्लेख गरेको छ । डोग्राले यस्तो घटनालाई फेरि हुन नदिनका लागि एयर इन्डियाले आफ्नो क्याटरिङ पार्टनरसँग बलियो उपाय अपनाउने पनि बताएका छन् ।

बेंगलुरुबाट एयर इन्डियाको उडान १७५ बाट थाइल्यान्डको बैंकक जाने क्रममा एक यात्रुले फिग चाट खाने क्रममा फलामको टुक्रा अर्थात् फलामको ब्लेड भेटेका थिए । त्यस क्रममा उनले तत्कालै क्याबिन क्रुलाई उजुरी समेत गरेका थिए ।

माथुर्स पल नामका ती यात्रुले एयर इन्डियाको लापर्वाहीबारे सामाजिक सञ्जालमा समेत लेखेका थिए । र धन्य अप्रिय घटना हुनबाट बचेको भन्दै एयर इन्डियालाई त्यस घटनाप्रति जिम्मेवार बनाउने प्रयास गरेका थिए ।
तर घटना बाहिरिएको केही दिनपछि एयर इन्डियाले ती यात्रुलाई क्षतिपुर्ति स्वरुप आफ्नो उडानको बिजनेस क्लासमा कुनै पनि देश निशुल्क यात्रा गराउने प्रस्ताव गरेको थियो ।

तर यात्रुले भने यस्तो प्रस्तावलाई घुसखोरी गर्न खोजिएको भन्दै अस्विकार गरेको बताएका छन् । यद्यपि डोग्राले ती यात्रुलाई क्षतिपुर्तिस्वरुप निशुल्क उडान गराउने प्रस्ताव गरेको विषयमा भने कुनै प्रतिक्रिया दिएका छैनन् ।


क्लिकमान्डु