कोरियन जिम सेन्टरले जब वयष्क महिलाहरुलाई प्रवेश निषेध गर्‍यो…



एजेन्सी । दक्षिण कोरियाको एक जिम सेन्टरमा महिलाहरुका लागि लेखिएको सूचनाले विवादको रुप लिएको छ । जिम सेन्टरमा ‘मिसबिहेबिङ आन्टिजलाई प्रवेशमा रोक लगाइएको छ’ भन्दै लेखिएको उक्त सूचनाले कोरियामा बढी उमेरका महिलाहरुमाथि विभेद गरिएको भन्दै कडा आलोचना हुन थालेको छ ।

उक्त जिम सेन्टर दक्षिण कोरियाको राजधानी सोल नजिकै इन्चियोन सहरमा छ । जिम सेन्टरको बाहिर बोर्ड नै लेखिएको छ, ‘मिसबिहेबिङ आन्टिजहरुका लागि अनुमति छैन । केवल शीष्ट महिलाहरुका लागि ।’ । सामान्यतया कोरियामा ३० वर्षभन्दा बढी उमेर भएका महिलाहरुका लागि प्रयोग गरिने अपमानजनक भाषा प्रयोग गरिएकोमा त्यसले विभेद गरेको भन्दै आलोचना भएको हो ।

तर मिडिया रिपोर्टहरुमा उक्त जिम सेन्टर र त्यसका मालिकको नाम सार्वजनिक गरिएको छैन । जिमले भने वयष्क उमेरका महिलाहरुको व्यवहारका कारण जिम सेन्टरलाई नोक्सान भएको भन्दै यस्तो सूचना लेखिएको जनाएको छ । त्यस्ता महिलाहरुले चेन्जिङ रुममा कपडा धोएर घन्टौं बिताउने गरेको र गम्छा, साबुन वा हेयर ड्रायर जस्ता सामानको चोरी पनि गरेको भन्दै उक्त जिम सेन्टरले यस्तो सूचना लेखेको जनाएको छ । यसवाहेक वयष्क महिलाहरु एउटा लाइनमा बसेर अरुमाथि कमेन्ट गर्ने गरेको पनि जिम सेन्टरका मालिकको भनाइ छ ।

साथै कम उमेरका महिला अर्थात् युवतीहरु यस्ता व्यवहारबाट दिक्क हुने गरेको जिमका मालिकले प्रतिक्रिया दिएका छन् । र त्यस्ता महिलाहरुका कारण युवतीहरु पछिल्लो समय जिम आउनै छाडेको भन्दै जिम सेन्टरका मालिकले आफूलाई नोक्सान भएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि उक्त सूचनाले वयष्क महिलाहरुको अपमान गरेको भन्दै कडा आलोचना भइरहेको छ । दक्षिण कोरियाको सामाजिक सञ्जालमा उक्त जिम सेन्टर र त्यसका मालिकप्रति धेरैले आलोचना गरिरहेका छन् । यससँगै जिम सेन्टरको समर्थनमा पनि कतिपय प्रतिक्रिया आएका छन् ।

जिम सेन्टरका मालिकले योनहेपबाट लेखेका छन्, ‘मैले बढी उमेरका महिलाहरुविरद्ध कुनै नकारात्मक प्रतिक्रिया दिएको छैन । मलाई लाग्छ कि जसले यो सूचनाको विरोध गर्नुभएको छ समस्या उहाँहरुलाई पनि छ ।’

तर बढी उमेरका महिला मात्रै नभएर पुरुषहरुको पनि त्यस्तै हर्कत हुनसक्ने भन्दै महिलाहरुको व्यवहारलाई सामान्यिकरण गर्नु पूर्वाग्रही भएको धेरैको प्रतिक्रिया छ । साइकोलोजीकी प्रध्यापक पार्क साङ हीले टिभी च्यानल जेटिबीसीलाई दिएको अन्तर्वार्तामा भनेकी छन्, ‘बढी उमेरका पुरुष पनि यस्तै हर्कत गर्छन् । उनीहरु पनि फ्रिको सामान प्रयोग गर्छन् । र पटकपटक यस्तो हर्कत गर्छन् । यो व्यवहार केवल महिलाहरुमा मात्रै लागु हुँदैन ।’


क्लिकमान्डु