गाजा क्षेत्रका ५० हजार बालबालिकालाई तत्कालै कुपोषणको उपचार आवश्यक



एजेन्सी । संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा रहेका ५० हजारभन्दा धेरै बालबालिकाहरुलाई तत्कालै कुपोषणको उपचार आवश्यक रहेको औंल्याएको छ । प्यालेस्टेनी शरणार्थीहरु सम्बन्धी समस्या हेर्ने संयुक्त राष्ट्रसंघीय एजेन्सीले यस्तो बताएको हो ।

‘मानवीय पहुँचमा निरन्तर प्रतिबन्धका कारण गाजामा मानिसहरुले भोकमरीको गम्भीर अवस्था सामना गर्नु परेको छ । युएनआरडब्लुएको टोली पीडित परिवारहरुसम्म सहायता पुर्‍याउन अथक प्रयास गरिरहेको छ । किनकि अवस्था भयावह छ,’ राष्ट्रसंघीय एजेन्सीले उल्लेख गरेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजा क्षेत्रमा सहायता पाउन मात्रै नभएर वितरण गर्न पनि कठिन रहेको बताएका छन् ।

युद्धको चपेटामा परेको गाजा क्षेत्रमा दातृ निकायका कर्मचारीहरु समेत मारिएका छन् । अलजजिरामा प्रकाशित समाचार अनुसार यसअघिका अन्य युद्धको तुलनामा यस युद्धमा सबैभन्दा धेरै दातृ निकायका कर्चमारीहरु मारिएका छन् । युनिसेफका प्रवक्ता एल्डरका अनुसार बुधबार १० हजार बालबालिकालाई पोषण र चिकित्सा सामग्री बोकेका ट्रक आपूर्ति गराउने युनिसेफको लक्ष्य थियो । र त्यहाँ पुगेर सहायता पुर्‍याउने उनीहरुको काम थियो ।

र ती ट्रकलाई दीर अल बाबादेखि गाजासम्म ४० किमिको यात्राका लागि गुडाउने भनी इजरायली अधिकारीहरुबाट पूर्वअनुमति पनि लिइएको थियो । तर यस कामका लागि १३ घण्टा लागेको र त्यसमध्ये ८ घण्टा चेकपोस्टमा सुरक्षाकर्मीहरुसँग वादविवाद गरेरै बितेको एल्डरले बताएका छन् ।

इजरायली अधिकारीहरुले ट्रक गुडाउन अनुमति नदिने गरेको भन्दै जसकारण १० हजार बालबालिकालाई उक्त सहयाता समयमै पुर्‍याउन नसकिएको उनले बताए । यस्तै संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका सहायक कार्यकारी निर्देशक कार्ल स्काउले प्यालेस्टाइनीहरुको अवस्था हेर्न आफूलाई दुई दिन लागेको प्रतिक्रिया दिए । साथै यसअघि यस्तो अवस्था आफूले कहिल्यै नदेखेको पनि उनको भनाइ छ ।


क्लिकमान्डु