विश्वकै ठूलो घोटाला ‘1एमडीबी’ काण्ड: अमेरिकाले मलेसियालाई फिर्ता गर्‍यो रकम



अमेरिकाको न्याय विभागले यो भ्रष्टाचार प्रकरणलाई अहिलेसम्मकै सबैभन्दा ठूलो ‘क्लेप्टोक्रेसी’ मुद्दाको रुपमा व्याख्या गरेको छ । मलेसियन पूर्वप्रधानमन्त्री नजिब भने यही 1एमडीबीसहितका थुप्रै भ्रष्ट्राचार काण्डमा दोषी ठहर भई २०२२ देखि जेल सजाय भोगिरहेका छन् ।

एजेन्सी । मलेसियामा भएको ‘वान एमडीबी’ नामको अर्बौं डलरको अन्तर्राष्ट्रिय घोटालामध्ये १५ करोड ६० लाख अमेरिकी डलर अमेरिकी सरकारले मलेसियालाई फिर्ता गरेको छ । यस घोटालामा जोडिएकाहरुबाट जफत गरिएको सम्पत्तिमध्ये अमेरिकाले हाल चौथो किस्ताको रुपमा उक्त रकम मलेसियालाई फिर्ता गरेको हो ।

विश्वकै सबैभन्दा ठूलो भ्रष्टाचार, घोटाला तथा मनी लन्ड्रिङमध्ये एक यो मुद्दामा लामो समयदेखि मलेसिया र अमेरिकाले छानबिन गरिरहेका छन् । मलेसियाको राज्य कोषबाट भ्रष्टाचार तथा अपचलन गरिएको अर्बौं डलर रकम अमेरिकामा पनि स्थानान्तर गरिएको थियो ।

मलेसियन जनताहरुको उक्त रकम मलेसियाली जनताका लागि आफूले फिर्ता पठाएको अमेरिकाले जनाएको छ । मलेसिया र अमेरिकाका अधिकारीहरुका अनुसार १एमडीबी प्रकरणमा कम्तीमा ४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको सम्पत्ति हिनामिना भएको थियो । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले २००९ मा स्थापना गरेको राज्यकोषको उक्त रकम योजनाबद्ध रुपमा अमेरिका लगायतका देशहरुमा गैरकानुनी रुपमा स्थानान्तर गरिएको थियो ।

अमेरिकाको न्याय विभागले यो भ्रष्टाचार प्रकरणलाई अहिलेसम्मकै सबैभन्दा ठूलो क्लेप्टोक्रेसी मुद्दाको रुपमा व्याख्या गरेको छ । मलेसियन पूर्वप्रधानमन्त्री नजिब भने यही १एमडीबीसहितका थुप्रै भ्रष्ट्राचार काण्डमा दोषी ठहर भई २०२२ देखि जेल सजाय भोगिरहेका छन् । जवकि उनी २०१८ मा नै आम निर्वाचनमा पराजतित भइसकेका थिए ।

मलेसियाका लागि अमेरिकी राजदूत एडगार्ड डी कागनले अमेरिकाले मलेसियन जनताहरुको उक्त रकम हालै फिर्ता गरेको बताएका छन् । अमेरिकाले उक्त सम्पत्ति जफत गरी हाल चौथोपटक मलेसियालाई रकम फिर्ता पठाएको हो । यससँगै अमेरिकाले जफत गरिएको उक्त रकममध्ये १ अर्ब ४० करोड डलर पठाइसकेको छ ।

राजदूत कागनले मलेसियन जनताको उक्त रकम फिर्ता गर्न पाउँदा आफूहरु खुसी भएको प्रतिक्रिया दिएका छन् । साथै अमेरिकाले हालै फिर्ता गरेको उक्त रकमबाट घोटाला प्रकरणमा ठगिएका मलेसियन जनताहरु नै लाभान्वित हुने राजदूत कागनले बताए ।

मलेसियामा १एमडीबी काण्ड खुलासा हुँदा मलेसियाका जनताहरुमा व्यापक आक्रोश पैदा भएको थियो । राज्यकोषको चरम दुरुपयोग गरिएको यस काण्डले मलेसियालाई विश्वभर नै बदनाम गरेको भन्दै यसको व्यापक विरोध भएको थियो । जवकि राज्यकोषको उक्त रकम मलेसियाका भगौडा व्यापारी लो ताइकसहित उच्च ओहदाका सीमित व्यक्तिहरुले विलासी जीवनयापनका लागि दुरुपयोग गरेको खुलासा भएको थियो ।


क्लिकमान्डु