कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, ९४ करोड २३ लाख ठगी



काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला व्यास नपा-११ घर भइ हाल काठमाडौं गोकर्णेश्वर बस्ने सहकारीका अध्यक्ष तेज विक्रम थापा, ललितपुर महानगरपालिका-१८ घरभइ हाल गोकर्णेश्वर बस्ने सहकारी संस्थाकी व्यवस्थापक सजना राजकर्णिकार, कीर्तिपुर नगरपालिका घर भएका सहकारीका सदस्य भीमसेन महर्जन र काठमाडौं महानगर-६ चाबहिल घर भएका सहकारीका संस्थापक सदस्य सञ्जय सापकोटा रहेको प्रहरीले जनाएको छ।

बचतकर्ताको निक्षेप अपचलन गरेको जाहेरीपछि उनीहरुविरुद्ध गत पुस १९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भइ अनुसन्धान सुरु भएको थियो । फरार रहेका अध्यक्षसहितका अन्यलाई कार्यालयबाट खटिएको टोलीले जेठ ३२ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

अध्यक्ष थापा २०५६ सालदेखि सत्र वर्षको उमेर श्री कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेका थिए । थापा २०६० सालदेखि निरन्तर कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको कार्यकारी अध्यक्ष पदमा रहेको प्रहरीले जनाएको छ । थापा २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीका अध्यक्ष थिए भने उनले २०७१ सालमा कृषि टेलिभिजन समेत सञ्चालन गरेका थिए ।

प्रहरीका अनुसार सहकारीले ठगी गरेको भन्दै ५६६ बचतकर्ताले जाहेरी दिएका छन् । पक्राउ परेकाहरुले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

सहकारीका २ हजार ५ सय ३१ बचतकर्ता पीडित रहेको प्रहरीको भनाइ छ । सहकारीमा २ अर्ब ८० करोड निक्षेप रहेको छ ।

उक्त सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ २६ गते समस्याग्रस्त घोषणा गरेको छ ।


क्लिकमान्डु