फुटबलको महासंग्राम ‘यूरोकप’: २ अर्ब ७० करोड यूरो उठ्ने, बिजेताले २८ करोड ५० लाख पाउने



काठमाडौं। मिनी विश्वकपको रुपमा लिइने युरोकप फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि जर्मनीमा सुरु भएको छ । १७औं संस्करणको यो खेलमा आयोजक जर्मनी र स्कटल्याण्डबीच पहिलो प्रतिस्पर्धा भएको छ । घरेलु मैदानमा जर्मनीले सुखद् सुरुवात गरेको छ ।

२४ देशहरु सहभागी भएको युरोकप एक महिनासम्म चल्नेछ । जसमा २४ टिमलाई ४-४ टिमको आधारमा ६ समूहमा विभाजन गरिएको छ । युरोकपको फाइनल खेल भने जुलाई १४ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ । सशक्त टिम जर्मनीका लागि यो १४औं युरोकप प्रतिस्पर्धा हो । र तीन पटक उपाधि जितिसकेको छ । जर्मनीकै बराबरीमा अर्को कडा प्रतिस्पर्धी स्पेनले पनि तीन पटक युरोकप जितिसकेको छ ।

सिँगो विश्वभरले नियालिरहेको युरोकप फुटबल खेल मात्रै नभएर एउटा बिजनेस हबको रुपमा पनि परिचित छ । खेलको रोमान्चकतासँगै युरोकपले सिर्जना गर्ने रोजगारी र अन्य आम्दानीका उपायहरुका कारण यो एक ‘बिजनेस इभेन्ट’का रुपमा पनि स्थापित हुँदै आएको छ । विशेषगरी जर्मनीको अर्थतन्त्रमा यसले कस्तो प्रभाव पार्छ भन्नेबारे बहस हुन थालेको छ ।

युरोकपको अर्थतन्त्र

यसरी हेर्दा कोरोना महामारीपछि कमजोर बनेको अर्थतन्त्रलाई यसले उकास्ने अपेक्षा गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार यसपटक युरोकपबाट २ अर्ब ७० करोड यूरो राजस्व संकलन गर्ने आकलन गरिएको छ । यसका लागि जर्मनीले विभिन्न प्रसारण तथा प्रायोजकसँगको सम्झौता गरेको छ । टिकट बिक्री, आतिथ्य प्याकेज र लाइसेन्सजस्ता विषयमा युरोकपको कारोबार तय हुँदैछ ।

युरोपको प्रशासकीय फुटबल निकाय युईएफएले गत अप्रिलमा आफ्नो यूरो २०२४ आम्दानीको आधा करिब १ अर्ब २० करोड यूरो नाफा कमाउने आकलन गरेको थियो । जसले चार वर्षका लागि उसको काम र विकास अनुदानको कोषमा सहायता पुग्ने बताइएको छ । यसमा २४ टोलीका लागि सयौं मिलियन यूरो पुरस्कार र दैनिक खेल जित्ने टोलीलाई दिने भुक्तानी पनि समावेश हुन्छ ।

युईएफएले खेलवापत ५०० मिलियन (५० करोड) यूरो नगद दिनेछ । जवकि २०२० मा कोरोना महामारी फैलिनुअघि ५७ करोड ५० लाख (५७५ मिलियन) यूरो खर्च गरेको थियो । जसअनुसार यो रकम पहिलेको तुलनामा घटेको हो । जवकि च्याम्पिएन्स लिग र अन्य क्लब प्रतियोगिताहरुले धेरै आम्दानी गर्छन् । जसबाट यो सिजनमा लगभग ३ अर्ब ५० करोड यूरो कमाइ भएको थियो । जुन अधिकांश रकम पुरस्कार राशिको रुपमा विभिन्न क्लबहरुलाई नै फिर्ता जान्छ ।

नगद कटौतीपछि कुल राजस्वमा युईएफएको ६.५ प्रतिशत हिस्सा हरेक वर्ष २ मिलियन यूरोले कम भइरहेको छ । यसपटक युरोकप २०२४ का प्रमुख प्रायोजकमा एडिडास, कतार पर्यटक बोर्ड र कोकाकोला छन् । साथै चिनियाँ कम्पनी अलिबाबाका दुई सहायक कम्पनीहरू र तीनवटा इलेक्ट्रोनिक टेक्नोलोजी फर्महरू समावेश छन्।

यसवाहेक अमेरिकामा युरोकपका खेलहरु त्यहाँको फक्स स्पोर्ट्सबाट अंग्रेजी र स्पेनिस भाषामा प्रशारण गरिनेछ । यसबाट हुने आम्दानी ह्याटट्रिक कार्यक्रमको आधार हो । जुन खर्च यूईएफएले आफ्ना प्रत्येक सदस्य राष्ट्रहरुको निर्माण, राष्ट्रिय टिम परिचालन खर्च वा शिक्षा जस्ता विभिन्न परियोजनाहरुका लागि खर्च गर्छ । युईएफएका अनुसार युरोकपको आम्दानीबाट प्रत्येक सदस्यहरु १७ मिलियन यूरोसम्म प्राप्त गर्नका लागि योग्य छन् । जुन रकम युरोपेली संघहरुले फिफाबाट प्राप्त गर्ने रकमभन्दा दोब्बरभन्दा धेरै हो ।

यस्तै युरोकपमा ३३१ मिलियन यूरोको पुरस्कार राशि २४ राष्ट्रिय महासंघहरुबीच बाँडफाँट हुनेछ । तर विजेताले सबै खेल जित्यो भने ऊ एक्लैले २८.५ मिलियन अर्थात् २८ करोड ५० लाख यूरो प्राप्त गर्नेछ । यस्तै युईएफएको २४० मिलियन यूरोको कोषबाट ६ सयभन्दा धेरै क्लबहरुले (जसमा अधिकांश युरोपका छन् र केही साउदी अरबसहित केही अन्य पनि) आफ्ना खेलाडीहरुका लागि प्राप्त गर्न सक्छन् ।

साथै युईएफएले फाइनल प्रतियोगिता खेल्ने खेलाडीहरुका लागि १४० मिलियन यूरो बजेट छुट्याएको हुन्छ भने नेसनल लिग र युरो २०२४ को दुई संस्करणमा खेल्ने सबै टिमलाई कल अप अनुसार रकम प्रदान गर्नका लागि १०० मिलियन यूरो बजेट छुट्याएको हुन्छ ।

जर्मनीलाई के फाइदा ?

युरोकपको तीन पटकको विजेता जर्मनीले चौथो पटक विजेता बन्ने लक्ष्य मात्रै राखेको छैन, बरु एक महिनासम्म चल्ने यस खेल अवधिभर पर्यटक तथा खेलप्रेमीहरुलाई खर्च गराउन प्रोत्साहन पनि गरिरहेको छ । युरोपको ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीले यस वर्ष ०.३ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य पनि राखेको छ । जुन विशाल औधोगिकरण भएका अन्य देशहरुको भन्दा केही न्युन वृद्धिदर हो ।

यसपटक युरोकपका लागि २७ लाख टिकट उपलब्ध छन् । खेल हुने भेन्यु बर्लिन, म्युनिख, कोलोन, डोर्टमन्ड, ड्युजेलडोर्फ, फ्रांकफर्ट, गेल्सेंकिर्चेन, हमबर्ग, लिपजिग र स्टाटगार्टमा बढी मात्रामा विदेशी पर्यटकहरु आउने अपेक्षा गरिएको छ । यस्तै पर्यटन विभागका अधिकारीहरुले भने यस वर्ष जर्मनीमा पर्यटकहरुको संख्यामा नयाँ रेकर्ड नै स्थापित हुने दाबी गरेका छन् ।

समर सिजनमा भएको यस लामो खेलको दौरान विशेषगरी अत्यधिक मात्रामा बियर लगायतका पेय पदार्थको बिक्री बढ्ने अपेक्षा गरिएको छ । सन् २००६ मा जर्मनीले नै विश्वकप आयोजना गरेको थियो । त्यसबेला बियरको बिक्रीमा ५ प्रतिशतले वृद्धि भएको थियो ।

जवकि सन् २०२३ बियर उद्योगका लागि कठिन वर्षको रुपमा मानिएको थियो । गत वर्षको सरकारी आंकडा अनुसार देशभर बियरको बिक्रीमा ४.५ प्रतिशतले बजारमा गिरावट आएको थियो । त्यसको गिरावट जारी रहेको बताइन्छ । जुन गिरावटलाई यसपटकको युरोकप बजारले उकास्ने आशा गरिएको छ । यसैले पनि ठूलो संख्यामा उपभोक्ताहरुले नयाँ टेलिभिजन खरिद गर्ने र पेय पदार्थ लगायतका वस्तुको खपत गर्ने सम्भावनाले बजारलाई थप चलायमान बनाउने छन् ।

यद्यपि उपभोक्ताहरुले त्यो खर्चको विकल्पमा अन्य क्षेत्रमा बचत गरिरहने सम्भावनालाई पनि टार्न सकिँदैन । जस्तो कि टिभी खरिदका कारण सिनेमा हलमा चहलपहल कम हुनसक्छ । रेस्टुरेन्ट जाने समय बचाएर ब्रेटवर्स्ट जाने सम्भावना रहन्छ । जसले गर्दा युरोकपको अवधिमा उपभोक्ताहरुको खर्च गर्ने प्रवृत्ति बढ्नुको सट्टा अन्यत्र सिफ्ट हुने पनि विश्लेषण हुने गरेको छ । तर अर्थशास्त्रीहरुले देशको अर्थतन्त्रको व्याख्या गर्दा युरोकपलाई पनि समावेश गर्न भने छाडेका छैनन् ।

यसवाहेक जर्मानीले पहिलो खेलको नतिजा कस्तो ल्याउँछ भन्ने कुराले पनि उपभोक्ताहरुको खर्चको प्रवृत्तिलाई प्रभावित पार्नसक्ने टिप्पणी हुने गरेको छ । यदि पहिलो खेल जर्मनीले जित्यो भने उपभोक्ताहरुको खर्चमा वृद्धि हुनसक्ने विश्लेषण गरिन्छ । यसले पनि साना तथा खुद्रा व्यापारलाई चलायमान बनाउने अपेक्षा गरिन्छ । आईएफओको आकलन के छ भने जर्मनीले युरोकप २०२४ मा विदेशी पर्यटक तथा खेलप्रेमीहरुको माध्यमबाट आफ्नो अर्थतन्त्रलाई १ अर्ब यूरो आर्थिक वृद्धि गर्नसक्ने छ ।

सन् २००६ मा जर्मनीले विश्वकप आयोजना गर्दाको आधारमा यसपटक युरोकप अवधिमा थप ६ लाख विदेशी पर्यटक आउने र थप १५ लाख मानिस रात्रिकालीन होटलमा बस्ने विभिन्न सरकारी अधिकारीहरुले आकलन गरेका छन् ।


क्लिकमान्डु