भारत-पाकिस्तान क्रिकेटको भ्लग खिच्‍ने क्रममा पाकिस्तानी युट्युबरको गोली हानी हत्या



एजेन्सी । अमेरिकामा टी २० विश्वकप क्रिकेट जारी रहँदा भारत र पाकिस्तानको खेलबारे भ्लग खिचिरहेका बेला पाकिस्तानी युट्युबर साद अहमदको गोली प्रहार गरी हत्या भएको छ ।

२४ वर्षीय युट्युबर सादले भारत र पाकिस्तानको म्याचबारे भ्लग बनाउने क्रममा पाकिस्तानको कराँचीस्थित एक सुरक्षा गार्डले उनीमाथि गोली प्रहार गरेका थिए ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार सादले दुई देशबीचको म्याचबारे मोबाइलले भिडियो खिचेर भ्लग बनाइरहेका थिए ।

स्थानीयहरुका अनुसार सादले भिडियो बनाउने क्रममा पसलेहरुसँग कुराकानी गरिरहेका थिए । त्यसपछि उनले सुरक्षागार्डसँग पनि खेलबार प्रतिक्रिया माग्दै उनलाई पनि भिडियोमा क्याप्चर गर्न लागेका बेला सुरक्षा गार्डले उनीमाथि गोली प्रहार गरेका थिए।

गुल हसन नामका ती सुरक्षा गार्डलाई सादले म्याचबारे प्रतिक्रिया मागेका बेला परिस्थिति अचानक बिग्रिएको थियो । सुरक्षा गार्डले प्रतिक्रिया दिनुको सट्टा सादमाथि गोली प्रहार गरेका थिए । उक्त घटनाको सीसी टिभी फुटेज सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको बताइएको छ ।

गोली हानि मारिएका पाकिस्तानी भ्लगर

घटनापछि घटनास्थलमा प्रहरी अधिकारी र उद्धारकर्मीहरु पुगेर घाइते भएका सादलाई अस्पताल लगेका थिए । घाइते भएपछि सादलाई उपचारका लागि अब्बासी शाहिद अस्पतालमा लगिएको थियो ।

घटनापछि अधिकारीहरुले ती सुरक्षा गार्डलाई पक्राउ गरेका छन् । संदिग्ध गुल हसनले प्रहरीसँग बयान दिने क्रममा आफूलाई युट्युबर सादले अनुहारको हाउभाउबाट उक्साहट गर्दै उत्तेजित पार्ने काम गरेको बताएका छन् । युट्युबरको हाउभाउबाट आफू क्रोधित बनेको प्रतिक्रिया दिएका छन् ।

पीडित पक्षले तैमुरी प्रहरी स्टेसनमा उजुरी समेत दिएका छन् । यही जुन ९ का लागि तय गरिएको भारत र पाकिस्तानको खेलका लागि सादले युट्युब कन्टेन्ट बनाएका थिए । यद्यपि युट्युबर सादले उक्त भिडियोका लागि के कस्ता प्रश्न सोधेका थिए भन्ने विषयमा यकिन भएको छैन ।

उक्त खेलमा पाकिस्तानले भारतसँग हार व्यहोरेको थियो ।


क्लिकमान्डु