एक वर्षमै कर्जाको ब्याजदर २ प्रतिशतले घट्यो



काठमाडौं । एक वर्षमै कर्जाको ब्याजदर २.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले बैंकहरुले लिने ब्याजदर उल्लेख्य मात्रामा घटेको देखाएको हो ।

गत वैशाख मसान्तको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको भारित औसत ब्याजदर १०.३४ प्रतिशत कायम भएको छ । गत वर्षको वैशाख मसान्तसमा यस्तो दर १२.६५ प्रतिशत थियो ।

गत वैशाखमा विकास बैंकहरुले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर ११.८९ प्रतिशत र वित्त कम्पनीहरुको १३.११ प्रतिशत छ ।

२०८१ वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.३४ प्रतिशत, विकास बैंकहरुको १०.१५ प्रतिशत र वित्त कम्पनीहरुको ११.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.२७ प्रतिशत थियो ।

यता वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.३५ प्रतिशत कायम भएको छ । २०८० वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.०८ प्रतिशत थियो । हाल विकास बैंकहरुले निक्षेप दिने ब्याजदरको भारित औसत ७.३१ प्रतिशत र वित्त कम्पनीहरुको ८.५५ प्रतिशत कायम भएको छ ।

२०८० वैशाखमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.६६ प्रतिशत रहेकोमा २०८१ वैशाखमा ३.०२ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० वैशाखमा ७ प्रतिशत रहेकोमा २०८१ वैशाखमा २.८८ प्रतिशत रहेको छ । यी दरले बैंकको लागत घटेर कर्जाको ब्याजदर गिरावट आएको प्रमाण दिन्छन् ।


क्लिकमान्डु