कार-जिप-भ्यानमा भ्याट छुट दिएको गल्ती सच्याउन ७० वर्ष पुरानो कानुनको सहारा लिँदै सरकार



काठमाडौं । सरकारले पेट्रोलियम कार-जिप-भ्यानमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटबारे गल्ती सच्याउने भएको छ । नयाँ आर्थिक विधेयकमा एचएस कोड ८७०२ र ८७०३ अन्तर्गत ड्राइभरसमेत १० वा सोभन्दा बढी यात्रु बोक्ने मोटर गाडी र पेट्रोल/डिजल कारमा भ्याट छुट दिइएको थियो ।

यस्ता प्रकारका एम्बुलेन्स र शवबाहनमात्र भ्याट छुट दिनुपर्नेमा ‘टाइपिङ इरर’ भएर सबै गाडी भ्याट छुट पाउने सूचीमा परेको भन्दै आफ्नै गल्ती सञ्चाउन लागेको हो ।

यसरी गल्ती सच्याउन सरकारले विसं २०१२ मा बनेको सामयिक कर असुलीको मद्दत लिनेछ । सो ऐनअनुसार सरकारले कर लगाउने बढाउने गर्नुपरे सूचित आदेश जारी गर्न सक्छ ।

भन्सार महसु वा अन्तःशुल्क वा अन्य कुनै पनि करको दर हेरफेर गर्न ऐनको दफा ३ को सहयोग लिइन्छ । यो व्यवस्थाअनुसार जारी गरेको सूचीत आदेश ६ महिना कायम रहनेछ ।

मन्त्रिपरिषदको बैठकले करको दर हेरफेर गर्न लागु हुने मितिसमेत तोकेर सूचित आदेश जारी गर्न सक्छ । सोही व्यवस्थाअनुसार बजेट भाषण हुने दिन मध्यरातिदेखि आर्थिक विधेयकले तोकेअनुसारको करको दल लगाइन्छ । यसरी लगाइएको कर ६ महिना वा सूचित आदेशको बेहोरा कानुन भइ लागु भएमा वा खारेज गरेमा निष्क्रिय हुनेछ ।

गत जेठ १५ गते बजेट वक्तव्यसँगै सरकारले सूचित आदेश जारी भएको थियो । सो आदेश आर्थिक विधेयक ऐन बनेर लागु नहुञ्जेलसम्मका लागि कायम हुने थियो ।

भ्याटछुटसम्बन्धि यसअघिको सूचित आदेश खारेज गरेर नयाँ आदेश जारी गर्न बिहीबारै मन्त्रिपरिषद बस्दैछ । यससम्बन्धि मन्त्रालयमा प्रस्ताव तयार पनि भइसकेको छ ।

‘मन्त्रिपरिषद् आज बस्यो भने आजै नत्र अर्को बैठकमार्फत् सबै कार-जिप-भ्यानमा नभएर शवबाहन र एम्बुलेन्समा मात्र भ्याट छुट दिनेगरी सूचीत आदेश जारी हुनेछ,’ स्रोतले भन्यो ।

८७०२ र ८७०३ अन्तर्गत एम्बुलेन्स र शववाहनलाई मात्र भ्याट छुट हुने व्यवस्था छ । तर, आर्थिक विधेयकमा ८७०२१०४९, ८७०२२०४९, ८७०२३०४९, ८७०२४०४९, ८७०२९०४९, ८७०३२१९९, ८७०३२२९०, ८७०३२३१९, ८७०३२३२९, ८७०३२३३९, ८७०३२४९०, ८७०३३१९०, ८७०३३२१९, ८७०३३२२९ र ८७०३३३९० एचएसकोड अन्तर्गत पर्ने सबै ‘अन्य’ कारजिप भ्यानमा भ्याट छुट दिने उल्लेख छ । यो गल्तीसाथ भएको भन्दै सरकारले सच्याउन लागेको हो ।


क्लिकमान्डु