रवि लामिछाने विरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनुसरह होः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् ।

बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताए । उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताए । उनले नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका बिरुद्ध खनिएको भन्दै आपत्ति जनाए । उनले काँग्रेस जस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गरे ।

ओलीले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको बताए । काँग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र प्रस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अर्घेल्याईं गरेको आरोप लगाए । संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने बताए ।

यस्तो छ ओलीको भनाइ

राजनीति गर्नुपर्छ तर राजनीति देशका लागि, जनताका लागि, सत्य स्थापनाका लागि हुनुपर्छ । राजनीतिक क्षणिक स्वार्थका लागि र क्षणिक लाभका लागि जानु हुँदैन । एकपल्ट एउटा कुरा अर्को पल्ट अर्को कुरा । त्यही परिस्थिति एक समय एकदम उचित, अर्को समय अनुचित यस्तो पनि हुनु हुँदैन । अहिले नेपाली काँग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरो भएको भए हुन्थ्यो, रवि लामिछाने की को भन्ने पात्रका बिरुद्ध काँग्रेस खनिएको छ । काँग्रेस जस्तो पार्टी रवि लामिछानेका बिरुद्ध खनिएको छ । के खनिनु । भँगेरा मार्न जाने तोप बोकेर । बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो । खैर अहिलेको उपप्रधानमन्त्री हुनुहुन्छ उहाँ, म सम्मान गर्दछु उहाँलाई उपप्रधानमन्त्रीको हैसियतले । तर नेपाली काँग्रेसले दुई तिरबाट अघ्र्यलाईं गरेको छ । एउटा बेलुका गएर तपाईं डेढ वर्ष प्रधानमन्त्री पहिलो प्रधानमन्त्री तपाईं खानुस् भन्ने । उसले त्यो कागजमा सही नगरेपछि भोलिपल्ट सहकारीको ठग भन्ने । यो त सत्य हो नि त । यस्तो गर्नु हुँदैन । रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिन भनेपछि त्यसोभए तँ सहकारीको ठग । अलि मिलेन । एउटा व्यक्तिको नाम लिएर संसदमा सहकारीको ठग कहाँ प्रमाणित भयो । भ्रष्टाचारी ठहर भएको मान्छे संसदमा उभिएर सहकारी ठग भनिरहेको छ । संसदमा मुर्दावादको नारा लगाइँदैन । त्यसलाई राम्रो मानिँदैन । अप्रमाणित कुरा संसदमा बोलिँदैन ।


क्लिकमान्डु