बेलायती प्रधानमन्त्री ऋषि सुनकले गरे चुनावको घोषणा



एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ का लागि आम निर्वाचनको घोषणा गरेका छन् । सुनकले बुधबार साँझ अचानक चुनावको घोषणा गर्दा उनी आलोचित बनेका छन् ।

बिहीबार उनले चुनावको घोषणाबारे बीबीसीबाट आफ्नो धारणा प्रस्तुत गर्ने बताइएको छ । यस्तै सुनक र लेबर पार्टीका नेता केर स्टारमर चुनावी अभियानको पहिलो दिन बेलायतभर भ्रमण गर्ने तयारी गरेको पनि बेलायती मिडियाले जनाएका छन् ।

चुनावी अभियान सुरु हुनुअघि नै कतिपय विश्लेषकहरुले सुनकले अगाडि सारेका नीतिको आलोचना र टिप्पणी गरिरहेका छन् । जलवायु परिवर्तनविरुद्धको संघर्षको क्रममा सुनक पछि हटेको भन्दै उनले आगामी निर्वाचनमा जनताबाट धोका बेहोर्नुपर्ने भन्दै उनको आलोचना हुन थालेको छ ।

६ हप्ताको समय मात्रै बाँकी राखेर चुनाव आह्वान गरेका सुनकले ‘जुवा खेलेको’ भन्दै उनको आलोचना भएको छ । बेलायतले लामो संघर्षपछि ब्रेक्जिट नीति पारित गरेसँगै राजनीतिक अस्थिरता झेल्नुपरेको छ । बोरिस जोन्सनले राजीनामा दिएपछि २०२२ को अक्टोबरमा ऋषि सुनक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । ऋषि कन्जरभेटिभ पार्टीका नेता पनि हुन् ।


क्लिकमान्डु