सांग्रिला साइकल र्‍याली गरिँदै, दर्ता खुलाइयो



काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा यही जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली गराउने भएको छ ।

“इन्धन बचाऔं, वातावरण जोगाऔं,” मूल नाराका साथ बैंकले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, बीवाइडी लगायतका संस्थाहरुसँगको सहकार्यमा साइकल र्‍याली आयोजना गर्न लागेको हो । बैंकले आयोजना गर्ने यो तेस्रो साइकल र्‍याली हो ।

साइकल र्‍यालीमा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरुले जेठ १६ गते सम्म निशुल्क दर्ता गर्नसक्ने भन्दै बैंकले सूचित गरेको छ ।

जेठ १९ गते बिहान ७ बजेदेखि सानोगौचरन मैदानबाट साइकल र्‍याली सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिदगेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट फेरि सानोगौचरन मैदानमा पुगेर समापन गरिने पनि बताइएको छ ।

यस साइकल र्‍यालीमार्फत् सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षणप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता अपनाउँदै प्रदूषण नियन्त्रणमा चेतना फैलाउने अपेक्षा राखेको छ । साइकल र्‍यालीमा सहभागीहरुलाई टिसर्ट र एक जना सहभागीलाई बम्पर उपहारको रुपमा साइकल दिइने पनि बताइएको छ ।


क्लिकमान्डु