सिरोहिया पक्राउ परेपछि अमेरिकी दूतावासले भन्यो: प्रेस स्वतन्त्रता सुनिश्चितताका लागि सार्थक संवाद आवश्यक



काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले नेपाली जनता प्रेस सुनिश्चिताको पक्षमा रहेको प्रतिक्रिया दिएको छ ।

सामाजिक सञ्जालमा एक पोस्ट राख्दै अमेरिकी राजदूतावासले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकार र नेपाली जनताले सार्थक संवाद गर्नुपर्ने उल्लेख गरेको हो ।

मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता सम्बन्धी मुद्दामा प्रहरीले कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको थियो । सिरोहिया पक्राउ परेपछि नेपालस्थित अमेरिकी राजदूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गरेको हो ।

‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्,’ राजदुतावासले भनेको छ, ‘कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’


क्लिकमान्डु