रविको सम्पत्ति: भक्तपुर र काठमाडौंमा ११ रोपनी ६ आना, ८० तोला सुन

अधिकांश सम्पत्ति श्रीमतीको नाममा



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । जेठ ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

भ्रष्टाचार निवारण ऐन अनुसार सार्वजनिक पदधारण गर्नेले सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था छ । सम्पत्ति व्यक्तिगत विवरण भएको भन्दै सरकारले त्यसलाई गोप्य राख्दै आएको थियो ।

बिहीबारको मन्त्रीपरिषद्को निर्णयपछि पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा प्रकाशित सम्पत्ति विवरण अनुसार गृहमन्त्री रवि लामिछानेको सम्पत्ति आफ्नो नाममा भन्दा पनी श्रीमतीको नाममा बढी रहेको पाइएको छ ।

लामिछानेले आफ्नो नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा रहेको रहेको विवरण पेश गरेका छन् । लामिछानेले उक्त सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको जनाएका छन् ।

यस्तै लामिछानेको नाममा ग्लोबल आइएमई बैंकका ५ हजार रुपैयाँ र नेपाल बैंक लिमिटेडमा १ लाख १० हजार रुपैयाँ छ ।

लामिछानेले बुझाएको विवरणअनुसार उनकी श्रीमती निकिता पौडेलको नाममा बुढानिलकण्ठ नगरपालिका ८ काठमाडौंमा ५ आना जग्गामा बनेर घर रहेको उल्लेख छ ।

३ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उक्त घरको १ करोड ५० लाख रुपैयाँ ऋण चुक्ता गर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै, लामिछानेले बुझाएको विवरणमा श्रीमती निकिताको नाममा गोपिकृष्ण प्रालि कम्पनीमा २५ प्रतिशत शेयर रहेको र गोपिकृष्ण प्रालिमा नाममा १० रोपनी ८ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

लामिछानेले श्रीमती निकितासँग करिब ८० तोला सुन र १५.२ केजी चाँदीको भाँडाकुडा रहेको विवरण पेश गरेका छन् । यसका साथै लामिछानेले बुझाएको विवरणमा श्रीमती निकिताको नाममा रहेका बैंक खातामा ५ लाख ५८ हजार ५११ रुपैयाँ रहेको उल्लेख छ ।

लामिछानेले श्रीमती र आफ्नो निजी आयबाट ४२ लाख रुपैयाँ पर्ने नेक्सन इभी गाडी खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

श्रीमतीको नाममा १४ वर्षअघि स्थापना भएको नारी टीभी र ६ वर्षअघि स्थापना भएको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको लामिछानेको सम्पत्ती विवरणमा उल्लेख छ ।

दुबै कम्पनीको हाल बजार मुल्य करिब ४ करोड रुपैयाँ भएको समेत सम्पत्ति विवरणमा जनाइएको छ ।


क्लिकमान्डु