काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो १७७ जना महानगरवासीका लागि  लोकसेवा तयारी कक्षा



काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्‍वान गरिएको थियो । उक्त सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो ।

यसरी कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि सहभागि छन । यस्तै १०५ जना शाखा अधिकृत पदको तयारीमा कक्षामा सहभागि छन ।  

आइतबार कार्यक्रम थालनी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै वौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताए । ‘युवाहरुको बौद्धिक क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्ने नेतृत्वको नीति कार्यान्वयन तहमा आएको छ,’ उनले भने, ‘महानगरबासीहरुमा राष्ट्रसेवक कर्मचारी बन्ने अभिलाषा वृद्धि गराउन, लोक सेवाबाट लिइने परीक्षामा सफल हुने वातावरण बनाउन लोक सेवा तयारीको कक्षा गरिएको हो ।’

नेपाल सरकारका पूर्व सचिव एवम कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले बौद्धिक क्षमता र  सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोकसेवा उत्तीर्ण गर्न सक्ने धारणा राखे । ‘यसमा व्यक्तिको होइन, क्षमताको मूल्याङ्कन गरिन्छ । यसकारण सबैका लागि समान अवसर छ ,’ उनले भने।

महानगरको सामाजिक विकास विभागका प्रमुख विमला कोइरालाले तालिम लिने व्यक्तिले भौतिक रुपमा कक्षामा उपस्थित हुनै पर्ने बताए । उनका अनुसार  अनलाइन कक्षा लिने सुविधा छैन ।  ‘कक्षाबिचमा छोड्ने छुट कसैलाई पनि छैन । यदि कसैले कक्षा छोड्यो भने त्यसवापतको शुल्क भुक्तानी गर्नुपर्नेछ,’ उनले भने ।

तालिम संयोजक रितु कर्णकाअनुसार तालिम आउँदो भाद्र महिनासम्म चल्नेछ । तालिममा महानगरपालिकाको स्थायी बासिन्दा, महिलाको हकमा ४० बर्ष र पुरुषका हकमा ३५ वर्ष उमेर पूरा नभएकालाई कक्षामा सहभागी गराइएको छ ।


क्लिकमान्डु