संसद खुलाउन प्रधानमन्त्री र कांग्रेसबीच छलफल हुँदै



काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसबीच शनिबार छलफल हुँदैछ। छलफल आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ।

कांग्रेसको सदन अवरोध, सहकारी प्रकरणलगायत समयसामयिक विषयमा छलफल गर्नका प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६ बजे बोलाएको बैठक आज ( शनिबार) को लागि सरेको हो।

शुक्रबार पनि कांग्रेसका कारण बस्दै नबसी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो। बैठक आइतबार बिहान ११ बजेका लागि सारिएको छ। यसैगरी, शुक्रबारको राष्ट्रियसभा बैठक पनि स्थगित भएको थियो।

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडानका कारण बिहीबार संसदको बैठकमा धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।

सहकारी ठगीका विषयमा छानबिन गर्न समिति बनाउन प्रधानमन्त्री, लामिछानेको दल रास्वपा र विपक्षी कांग्रेस तयार भए पनि रविको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा कुरा नमिलेको अवस्थामा बिहीबारको घटना भएको हो। घटनापछि दलहरू थप टाढिएका छन्।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठकका लागि संसद भवन बानेश्वर पुगेपछि मात्रै दलहरूबीच संवाद सुरु भएको थियो। प्रधानमन्त्रीले आग्रह गरेपछि सभामुख घिमिरे सदन आइतबारका लागि सार्न तयार भए।

कांग्रेससँगको भेटमा प्रधानमन्त्री छानबिनका लागि समिति बनाउन तयार भए पनि सत्तापक्षको ठूलो दल एमाले यसका लागि तयार छैन।

सभामुख घिमिरे र प्रधानमन्त्री दाहाल अवरुद्ध संसद खुलाउन निरन्तर रूपमा लागेपनि दलहरूबीच आ -आफ्नै अडानका कारण सहमति हुन सकेको छैन।


क्लिकमान्डु