गिरीबन्धु टि-इस्टेटको जग्गामा छन् कयौं घर, व्यवसाय र भवन, यस्तो छ अवस्था



काठमाडौं । केही समय यता झापास्थित गिरीबन्धु टि-इस्टेटको जग्गा चर्चामा रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गिरीबन्धु टि-इस्टेटको जग्गामा सट्टापट्टा गर्ने गरि गरेको निर्णयलाई सर्वोच्च अदालतले ‘अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ निर्णयको संज्ञा दिँदै खारेज गरेको थियो ।

तर ओलीले फैसलामा असन्तुष्टि जनाउँदै कांग्रेसले बचेको ७० बिघा जग्गाको व्यवस्थापनलाई कानुन बनाउन अदालतले दिएको आदेश आफूहरुले कार्यान्वय मात्र गरेको दाबी गरेका छन् ।

यससँगै गिरीबन्धु टि-इस्टेटको जग्गा सम्बन्धि विवाद चर्चामा रहेको छ ।

ओलीले बुधबार एक कार्यक्रममा कांग्रेसले कमिसन खाएर गिरीबन्धु टि-इस्टेटको ७० बिघा जग्गा बेचेको आरोप लगाएका थिए ।

गिरीबन्धु टि–इस्टेटको बेचिएको भनिएको जग्गा अहिले झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा ११ मा पर्दछ । ठूलो भागमा अहिले पनि चियाको बुटा र जंगल नै छ ।

गिरीबन्धु टि–इस्टेटको जग्गा अहिले कस्तो अवस्थामा छ ?

बिबादित गिरीबन्धु टि-इस्टेटको जग्गामा अहिले ठूलो मानवीय बसोवास भएको बस्ति, बसपार्क, ठूल्ठूला होटल तथा विभिन्न संस्थाका कार्यालय छन् । ११५३ वटा कित्तामा विभाजन भएको जमिनमा अहिले करिब ४ सय घर परिवार बसोवास गरिरहेका छन् ।

बिर्तामोड ५ र अर्जुनधारा ११ स्थित ५१ विघा जग्गामध्ये ३८ बिघा जग्गा प्लटिङ गरिएको थियो भने बाँकी खाली नै रहेको छ । प्लटिङमा आवासीय घरसँगै टेकबहादुर गिरी बसपार्क, पाथीभरा इन्जिनियरिङ कलेज, कान्तिपुर ड्राइभिङ सेन्टरजस्ता व्यावसायिक संस्था सञ्चालनमा छन् । त्यही जग्गामा दुई दर्जनभन्दा बढी होटल खुलेका छन् ।

झापाको गिरीबन्धु टि-इस्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि सोही जग्गामा बसोवास गर्नेहरूमा अन्योल छाएको छ । यता गिरीबन्धु टि-इस्टेटको जग्गाको विषयमा सत्ता साझेदार प्रमुख दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सदन र सडकमा आमने सामने हुने निश्चित छ । वास्तविकता के हो ? बिस्तारै खुल्दै जाला । अबको केही दिन सहकारीको विषयसँगै गिरीबन्धु टि–इस्टेटको जग्गाको विषयले नेपालको राजनीति तात्ने निश्चित छ ।


क्लिकमान्डु