बजारमा भएको महँगी किन देख्दैन राष्ट्र बैंकले ?

केन्द्रीय बैंकको तथ्यांकमा महँगी दर घटेको घट्यै, बजारमा बढेको बढ्यै, निश्चित आय वर्ग पीडामा



काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा मुद्रास्फीती दर (महँगी) सुस्ताइरहेको बताइरहँदा बजारमा भने दैनिक उपभोग्य वस्तुको मूल्यले उपभोक्तालाई वेहाल बनाएको छ ।

महँगी बढ्दै गएका कारण आम उपभोक्ताको भान्छा निक्कै महँगिएको छ । निश्चित आयमा बाँच्ने तलबजीबि वर्गको जीवनमा महँगीका कारण तलबले खर्च धान्न नसक्ने भैसक्दा पनि सरकार भने राष्ट्र बैंकको तथ्यांक हेरेर मख्ख छ ।

तर, राष्ट्र बैंककाे तथ्यांकअनुसार २०७९ चैतमा मुद्रास्फीति दर ७.७६ प्रतिशत थियो भने २०८० चैतमा ४.६१ प्रतिशतमा पुगेको छ।

यसरि, समग्रमा मुद्रास्फीति दर घटेको औल्याइए पनि आम उपभोक्ताको दैनिन्दीन आवश्यक खाद्यवस्तुको मूल्यमा भएको अत्याधिक महंगीका कारण कष्टकर हुँदै गएको छ ।

किनकि चामल, दाल, खानेतेल, तरकारीलगायत दैनिक आवश्यकताका सामाग्रीको मूल्य बढ्दै गएको बजारकै तथ्यांकले देखाउँछ ।

नेपाल खुद्रा व्यापार संघ र कालिमाटी बजार समितिको तथ्यांकलाई विश्लेषण गर्दा अधिकाँश दैनिक उपभोग्य वस्तुको मूल्य पछिल्लो समयमा बढेको पाइएको छ ।

तथ्यांकअनुसार २०७९ चैतको तुलनामा २०८० असोजमा भान्छामा प्रयोग हुने खानेतेलको मूल्यमा सामान्य गिरावट आएपनि अन्य बस्तुको मूल्य भने अचाक्ली रुपमा बढेको पाइएको छ । असोजमा घटेको खानेतेलको मूल्य भने २०८० को चैतमा आइपुग्दा फेरी बढेको छ ।

२०७९ चैत महिनामा भुटेको तोरीको तेल प्रति लिटर ४०० रुपैयाँ थियो । तर, तेलको मूल्य झरेर २०८० असोजमा ३ सय ६० रुपैयाँ प्रति लिटरमा आइपुगेको थियो भने वितेको चैतमा त्यहि तेलको मूल्य बढेर अहिले ३७० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको पाइएको छ ।

यस्तै २०७९ चैत महिनामा काँचो तोरीको तेलको मूल्य प्रति लिटर ३५० रुपैयाँ थियो । २०८० असोजमा उक्त तेलको मूल्य घटेर प्रति लिटर ३१० मा आइपुगेको थियो । चैतमा फेरी मूल्य घटेर अहिले यो तेल प्रतिलिटर ३०० रुपैयाँमा बिक्री भइरहेको छ ।
अर्कोतर्फ २२५ रुपैयाँ प्रतिलिटर रहेको भटमास र सनफ्लावर तेलको मूल्य घटेर २०८० असोजमा २०५ रुपैयाँमा आइपुगेको थियो । तर गत चैतमा फेरी मुल्य बढेर अहिले प्रति लिटर २१० रुपैयाँमा बजारमा कारोबार गरिरहेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

त्यस्तै २१५ रुपैयाँ प्रतिकिलो रहेको डाल्डा घिउको मूल्य पनि घटेर असोजमा २१० मा आइपुगेको थियो । यो डाल्डा घिउको मूल्य अहिलेसम्म स्थिर रहेको पाइएको छ ।

यी केहि बाहेक नेपालीको प्रमुख खान्की चामलको मूल्यलाई बिश्लेषण गर्ने हो भने मूल्य घट्नुको साटो निरन्तर रुपमा बढ्दै गएको छ । निम्न र मध्यमवर्गले अध्यधिक रुचाउने सोना मन्सुली चामल र स्टिम जिरा मसिनो चामलको मूल्य बर्षेनी बढ्दै गएको छ ।

नेपाल खुद्रा व्यापार संघको तथ्यांकअनुसार २०७९ चैतमा स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकिलो ८५ रुपैयाँ थियो । २०८० असोजमा यसको मूल्य बढेर प्रतिकिलो ९५ रुपैयाँ भएको थियो भने २०८० चैतमा प्रतिकिलो एक सय रुपैयाँ पुगेको छ ।
यस्तै २०७९ चैतमा प्रतिकिलो ६५ रुपैयाँ रहेको स्टिम सोना चामलको मूल्य २०८० असोजमा ७५ रुपैयाँमा पुगेको थियो भने २०८० चैतमा ८० रुपैयाँ पुगेको थियो ।

नेपालमा सर्वाधिक बिक्री हुने चामलमा स्टिम जिरा मसिनो र सोना मन्सुली पर्छ ।

यसबाहेक खाजाको रुपमा खाइने टाइचिन च्युराको मूल्य पनि अत्यधिक बढेको छ । २०७९ चैतमा ७५ रुपैयाँ प्रतिकिलो च्युराको मूल्य २०८० असोजमा एकैपटक १०५ रुपैयाँसम्म पुगेको थियो । सोही बर्षको चैतमा भने यो च्युराले ११० रुपैयाँ प्रतिकिलोका दरले बजारमा कारोबार गरेको छ ।

सरकारको गैरजिम्मेवारीपनका कारण गत बर्ष नेपाली उपभोक्तालाई चिनीको मूल्यले पनि रुवाएको थियो । २०७९ चैतमा प्रतिकिलो ९५ रुपैयाँमा कारोबार गरेको चिनीले गत असोज १२० रुपैयाँ प्रतिकिलो पुगेको थियो । गत चैतदेखि नेपाली बजारमा प्रतिकिलो १०८ रुपैयाँमा चिनीको कारोबार भइरहेको छ ।

तरकारीतर्फ पनि राष्ट्र बैंकको तथ्यांकमा देखिए झैं उल्लेख्य मूल्य घटेको छैन । उल्टो, मौसमको प्रभाव, उत्पादनमा कमी र ढुवानी खर्च बृद्धिका कारण हरियो तरकारीको मूल्य पनि पछिल्लो समयमा बढ्ने क्रम देखापरेको छ ।

आय स्रोत न्यून भएको वेला प्रमुख खाद्यान्नको मूल्य बृद्धिका कारण आम नेपालीलाई अहिले महँगीले पिरोलेको छ । बजारमा प्रमुख खाद्यान्नको मूल्य बढेर महँगी अत्यधिक बढेको भन्दै पछिल्लो समयमा राष्ट्रिय उपभोक्ता मञ्चले त्यस्ता बस्तुको मूल्य नियन्त्रण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र नै बुझाएको छ ।

‘सरकारले महँगी घट्दै गएको बताए पनि बजारमा भने मूल्य अत्यधिक बढ्दै गएको हाम्रो अध्ययनले देखाएको छ,’ मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘पछिल्लो समयमा चामल, दाल, चिनी, खानेतेललगायतका मूल्य अस्वाभाविक रुपमा बृद्धि हुँदै गएको हाम्रो अध्ययनले फेला परेको छ । यो मूल्य बृद्धिलाई नियन्त्रण गर्नुपर्ने माग राखेर प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएका छौं ।’

दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको चिनी, चामल, गहुँं, मकैं, दाल, तेल जस्ता वस्तुहरु नेपालमा पर्याप्त परिमाणमा उत्पादन हुन नसक्दा माग धान्न भारतलगायत तेश्रो मुुलुकबाट आयात हुँदै आएको छ ।

मञ्चले सरकारले नै कालोबजारी, तस्कर र बिचौंलियासँग मिलोमतो गरी समयमै चामल, चिनी, गहुँजस्ता अत्यावश्यक वस्तु आयात गर्न अनुमति नदिंदा यस्ता खाद्यान्नको मूल्य बढ्दै गएको आरोप पनि लगाएको छ ।

‘प्रधानमन्त्रीको निर्देशन, संसदीय समितिको निर्देशन, आपूर्ति मन्त्रालयको आग्रहलाई तत्कालिन तत्कालLन अर्थमन्त्री डा प्रकाश शरण महतले नजरअन्दाज गरेकाले ९० रुपैयाँमा झरेको चिनीको मूल्य बढेर अहिले ११० रुपैयाँमा पुगेको छ,’ ज्ञापन पत्रमा उल्लेख छ, ‘मोटा चामल र जिरा मसिनो चामलको प्रतिबोरामा अहिले ८०० रुपैयाँसम्म बढेको छ । आँटा र मैदाको मूल्य ३० प्रतिशतले बढेको छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार भारतले अहिले औपचारिक रुपमा चामल, धान, गहुँ, चिनीलगायतको निर्यातमा प्रतिवन्ध लगाएको छ । औपचारिक रुपमा यस्ता दैनिक उपभोग्य वस्तु भारतबाट आयात भएको छैन।

औपचारिक रुपमा आयात नहुँदा खुला सिमानाको फाइदा उठाउँदै पहुँचको भरमा केही संठगित तस्करको गिरोहले भन्सार छलेर चोरि निकासी गर्दै यस्ता वस्तु नेपाली बजारमा उपलब्ध गराउदै आएका छन् ।

तर पछिल्लो समयमा गृहमन्त्री भएका रबी लामिछानेले अनौपचारिक रुपमा आइरहेका वस्तुको आयातमा समेत कडा निगरानी राख्न थालेपछि संगठित गिरोहले महँगो ढुवानी खर्च गरेर ती सामान आयात गर्दैआएको मन्त्रालय स्रोतले जनाएको छ ।

‘महँगी बढ्नुमा प्रमुख गरी हाम्रो सरकारकै गल्ति हो, कि त पर्याप्त परिमाणमा उत्पादन गर्नुपर्छ । पर्याप्त परिमाणमा उत्पादन गर्न सकिन्न भने बाहिरबाट पनि आउन दिनुपर्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘हामीले अवैध रुपमा हुने कारोबारलाई समर्थन गरेको होइन, तर बढ्दो महँगीलाई नियन्त्रण गर्न ठोस रणनीति त् कार्यान्वयनमा ल्याउनुपर्छ । महँगी नियन्त्रण गर्नुको साटो पछिल्लो समयमा सीमा नाका कडाई गरेका कारण झनै महँगी चुलिएको छ ।’

स्रोतका अनुसार पहिले एउटा तस्करले सामान ल्याउँदा सबै प्रकारको ढुवानी गरेर एक सय रुपैयाँ लिन्थ्यो भने अहिले सीमा नाका कडाई भएपछि त्यो ढुवानी खर्च २५० रुपैयाँसम्म पुगेको छ । जसका कारण उपभोक्ताले पनि महँगोमा बस्तु किन्नु परेको छ ।

‘तस्करहरुले अहिले ल्याउने यस्ता सामानहरु वापत एक मुष्ट रुपमा उठ्ने रकम गृहमन्त्रालयसम्म पुग्ने गरेको हाम्रो अध्ययनले देखाएको छ,’ मन्त्रालयका अधिकारीले क्लिकमान्डुसँग भने, ‘हामीले महँगी नियन्त्रण गर्ने बिषयमा यो बिषयलाई जोडेर विभागीय मन्त्रीसँग छलफल गरेपनि उहाँले कुनै चासो नै देखाउनु भएन । माथिल्लो निकायले चासो नदेखाउँदा हामी पनि चुप लागेर तमाशा हेर्नु बाहेक केही गर्न सक्दैनौं ।’

मुसुरोको मूल्य घट्यो, रहर र मासको मूल्य बढ्यो

खुद्रा व्यापार संघको तथ्यांक अनुसार २०७९ चैतमा २१० रुपैयाँ प्रतिकिलो रहेको रहर दालको मूल्य २०८० असोजमा २७० मा पुगेको थियो । त्यसपछि २०८० चैतमा यो दालको मूल्य बढेर ३०० रुपैयाँ पुगेको थियो ।

यस्तै २०७९ चैतमा १९० रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको मासको दाल २०८० असोजमा २१० थियो थियो भने २०८० को चैतमा यो दालको मूल्य बढेर २२० रुपैयाँ कायम भएको थियो ।

२०७९ चैत र गत असोजमा प्रतिकिलो १७० रुपैयाँमा रहेको मुसुरो दाल गत चैतदेखि १६५ रुपैयाँमा बिक्री भइरहेको छ ।

उपभोक्ता मूल्य सूचकांकको गणना

नेपाल राष्ट्र बैंकले आम्दानी स्तर, उपभोग तथा अन्य कारकहरूमा आएको परिवर्तनले नागरिकमा भएको खरिद पद्धतिमा परिवर्तनलाई समेटेर उपभोक्ता मूल्य सूचकांक निकाल्ने गर्दछ ।

हालको उपभोक्ता मूल्य सूचकांकको डालोमा खाद्य वस्तुमा ५६.०९ प्रतिशत र गैरखाद्य वस्तुमा ५६.०९ प्रतिशत भार राखिएको छ । यसअघिको उपभोक्ता डालोले खाद्यवस्तुमा ४६.८२ प्रतिशत र गैरखाद्य वस्तुमा ५३.१८ प्रतिशत भार तोकेको थियो ।
खाद्य र गैर–खाद्य वस्तुहरूको योगदानमा पछिल्लो परिवर्तन सन् १९७० को दशक पछि देखिने प्रवृत्ति अनुरूप भएको राष्ट्र बैंकको दाबी छ ।

राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकको डालो हरेक १० वर्षमा परिमार्जन गर्दछ । राष्ट्र बैंकले ५५ जिल्लाका ८ हजार २८ घरधुरीमा गरेको सर्वेक्षणको आधारमा उपभोक्ता मूल्य सूचकांक परिमार्जन गरेको हो । सर्वेक्षणको आधारमा राष्ट्र बैंकले ४ सय ९६ वस्तु तथा सेवालाई नयाँ सूचीमा समावेश गरेको छ । जसअनुसार उपभोक्ता मूल्य सूचकांक निकाल्ने गरिन्छ ।

उपभोक्ता मूल्य सूचकांकअनुरुप हरेक महिना राष्ट्र बैंकले तथ्या‌क निकाल्ने गरेकाे छ ।


राजेश बर्मा