सुरक्षण मुद्रण केन्द्रमा विकल पौडेलसहित ६ जनाविरुद्ध ४० करोडको भ्रष्टाचार मुद्दा



काठमाडौं । तत्कालिन सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जना विरुद्ध ४० करोड रुपैयाँको भ्रष्टाचार मुद्धा दायर भएको छ ।

पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन निर्देशक सफल श्रेष्ठ र वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नवीनकुमार पोखरेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे अनि सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेन विरुद्ध पनि मुद्दा चलाएको छ ।

अख्यियारले सुरक्षण मुद्रणका सामग्री खरिद गर्दा ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ राज्यलाई हानी नोक्सानी हुने गरी काम गरेको भन्दै उक्त रकम विगो र ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ रुपैयाँ जरीवानासहितको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध अर्को मुद्दासमेत चलिरहेको छ । पौडेल अहिले विशेष अदालतकै हिरासतमा छन् ।


क्लिकमान्डु