गगनलाई रविको चुनौतीः मैले निवेदन दिएर लोन लिएको प्रमाण दिनु, राजनीति छोडिदिन्छु



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई आफूविरुद्ध प्रमाण पेश गर्न चुनौती दिएका छन् । यदी थापाले प्रमाण पेश गरे आफू राजनीति छाडिदिने नभए थापाले राजनीतिबाट बिदा लिनुपर्ने बताएका हुन् ।

शुक्रबारको प्रतिनिधिसभा वैठकपछि प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले भने, ‘ गगन थापाले आफूसँग मेरो विरुद्ध प्रमाण छ भन्नुभयो । ल प्रमाण ल्याउनुस्, संसदीय समिति त ठूलो कुरै थिएन । मैले निवेदन दिएर सहकारीबाट ऋण मागेको प्रमाण दिनुभयो राजनीति छाडिदिन्छु । नत्र उहाले राजनीति छाड्नुपर्छ ।’

संसदीय छानविन समितिभन्दा पहिले आफूले सदनमा बोल्न पाउनुपर्ने तर्क गर्दै लामिछानेले भने, ‘म एकपल्ट बोल्न चाहन्छु । संसदीय समिति बनाए हुन्छ । तर त्यो भन्दा पहिले के हो भन्ने कुरा सदनमा बताएर जान चाहन्छु ।’ आफू राजनीति छाड्न तयार रहेको भन्दै लामिछानेले ‘समिति जाबो’को कुरा नगनै उल्लेख गरे ।

‘गगन थापाले चुनौती दिनुभयो कि मैले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको भन्ने,’ उनले भने, ‘म बोल्छु भन्दा किन नदिएको ? बोल्ने कुरामा किन डराएको ? एकपटक मलाई बोल्न दिए त थाहा हुन्थ्यो नि । मलाई बोल्न नदिएर को डराएको थाह भयो नै होला नि ।’

काँग्रेसले २ महिना निरन्तर आरोप लगाएको तर एक पल्ट आफ्नो जवाफ सुन्न डराएको भन्दै लामिछानेले थपे, ‘कुन कुरा सडकमा बोल्ने र कुन कुरा सदनमा बोल्ने मलाई थाह छ । सदनमा भएको निरन्तरको खेदाइलाई सदनबाटै जवाफ दिने हो, सडकबाट होइन । सरकारमा बसेर त जनताको पक्षमा काम गर्ने हो ।’


क्लिकमान्डु