बालमन्दिर जग्गा प्रकरण: तत्कालीन अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पुर्जी



काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

‘बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गर्छौं,’ बोगटीले भने ।

अदालतले २० जनाविरुद्ध पक्राउ अनुमति दिएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले जनाएको छ ।

बालमन्दिर जग्गा विवादमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू गणेशभक्त श्रेष्ठ, तुलसीनारायण सिंह, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलसहितका व्यक्तिहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

यस्तै योगेन्द्रबहादुर शाही, प्रचण्डराज प्रधान, गोपाल श्रेष्ठ, रामकाजी कोने, दिपकदास श्रेष्ठलाई पनि पक्राउ पुर्जी जारी भएको हो। यसवाहेक वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

सीआईबीमा बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरुविरुद्ध जाहेरी परेको प्रवक्ता बोगटीले बताए । बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले बिसं २०४९ सालदेखि बिसं २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ ।

नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक एक करोड ९ लाख तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको बताइएको छ । आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) जाहेरी दिएको बताइएको छ ।


क्लिकमान्डु