प्राध्यापक ईला शर्मा बनिन् सिटिजन्स बैंकको सञ्चालक, कानुन र वाणिज्य विषयमा ३५ वर्षको अनुभव



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बैंकको सञ्चालकमा इला शर्मा नियुक्त भएकी छन् । बुधबार बसेको सञ्चालक समिति बैठकले ५८ वर्षिया शर्मालाई सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक बनाएको हो ।

कानुन, मिडिया, पब्लिक रिलेसन, शिक्षा तथा विकासका विभिन्न क्षेत्रमा ३५ वर्षको अनुभव बटुलेकी शर्मा निर्वाचन आयोगकी पूर्व आयुक्त हुन् भने वाणिज्य बैंकमा स्वतन्त्र सञ्चालक रहेर काम गरिसकेकी छन् । उनी कानुनकी विद्यार्थी हुन् । शर्माले त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक अन्तर्राष्ट्रिय कानुन तथा मानव अधिकार विषयमा स्नातकोत्तर (एलएलएम) गरेकी छन् भने संयुक्त अधिराज्यको युनिभर्सिटी अफ हल अन्तरराष्ट्रिय व्यापार तथा विकास अध्ययन गरी अन्तरराष्ट्रिय व्यवसाय कानुनमा अर्को स्नातकोत्तर गरेकी छन् ।

शर्मासँग निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षता गरेकी थिइन् । शर्माले काठमाडौं विश्वविद्यालयको स्कुल अफ ल र ओस्लो विश्वविद्यालयको नर्वेजियन सेन्टर फर ह्युमन राइट्ससँगको सहकार्यमा नेपालको निर्वाचन आयोगले प्रदान गरेको प्राज्ञिक स्नातकोत्तर पाठ्यक्रम डिजाइन र अध्यापनमा उल्लेखनीय भूमिका निर्वाह गरेकी छन् ।

यस्तै, शर्माले व्यापार कानुन र विश्व व्यापार संगठनको सिद्धान्त अनुरुप नेपाली कानुनी संरचना रहे नरहेको अध्ययन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यूएनडीपी प्रोजेक्टमा राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी थिइन् । विभिन्न अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको अन्तर्राष्ट्रिय वकालत सञ्जालमा संलग्न शर्माले मानव अधिकार, अन्तर्राष्ट्रिय व्यापार र विकासका मुद्दाको सन्धि निर्माताका रुपमा पनि काम गरेकी छन् ।

उनीसँग फुड फर्स्ट इन्फर्मेसन एक्सन नेटवर्क नेपालको संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडिया तथा र साउतीको कार्यसमिति सदस्य रहिसकेको अनुभव छ ।

हाल भारतको आईआईएलएम विश्वविद्यालयकी प्राध्यापक रहेकी शर्मा एलएमएम विद्यार्थीलाई कानुन तथा न्याय, अन्तरदेशीय मध्यस्तता, लगानी कानुन तथा अन्तरराष्ट्रिय मानवअधिकार अध्यापन गराउँछिन् ।

शर्मा विशेषज्ञता तथा रुचीको क्षेत्र व्यापार र विकास तथा उदीयमान प्रजातन्त्रमा निर्वाचन सुधारलगायत रहेको बैंकले जनाएको छ ।


क्लिकमान्डु